कविता
मेरो प्यारो तेमाल तिमिलाई अभिवादन !
-अरुण घिसिङ

सुनकोशी र रोशीखोलाको दिवार भित्र
शैलुङ र महाभारतको बीचमा
हिमालको हिउँ झैं
मुसुक्क मुस्कुरांउदै
सतिसाल झैं
ठिङ्ग उभिएको
मेरो प्यारो तेमाल तिमिलाई अभिवादन !
तुफानीहरु सङ्ग जुध्दै
आंधीहरुसङ्ग पौंठेजोरी खेल्दै
आगोको लाप्काहरु सङ्ग मितेरी गांसेर
मृत्यु सङ्ग पहिचान खोज्दै
स्वर्णिम इतिहास कोर्न
सगरमाथा झैं अटल
अनि अजर भै
ठिङ्ग उभिएको
मेरो प्यारो तेमाल तिमिलाई अभिवादन !!
नविन युगको प्रेक्षपण गर्न
युगकै बोझिलो भारी बोकेर
धार भित्र अनगिन्ती युगान्तकारी
सपनाहरु उनेर
सुनकोशी र रोशी खोलाको
तुफानी वेगलाई
चट्टान भनी
आजादीको लागी एण्डिज पहाड झैं
ठिङ्ग उभिएको
मेरो प्यारो तेमाल तिमिलाई अभिवादन !!!
शैतान बनेका बादशाहलाई
सिंहासनबाट खसाल्न
शरीरभरी नेलको पर्वाह नगरी
अविचल युगकै रापिलो बनि
हजारौं योद्धाहरुको
रगतले रंगिएको झण्डा बोक्दै
यनान झैं
ठिङ्ग उभिएको
मेरो प्यारो तेमाल तिमिलाई अभिवादन !!!!
युग बदलिएको नमिठो गन्धहरु
बादशाह फेरिएर
लाल बादशाहको सिंहासन
रंगिएको हुङ्कारहरु सल्बलाएको
हो त्यही लाल गद्दारहरु
जस्ले पहिचानलाई
पल्लवीमा नै निमोठ्ने कुचेष्ट गरे
हजारौं विरङ्गनाहरुको रगतले
लतपतिएको पहिचानलाई
वाग्मतीमा सेलाउन पछि परेन
लाल बादशाहहरु
तापनि
आजादीको आवाज बुलन्द गरिरहे
पहिचानको हुङ्कार छेडिरहे
त्यसैले त सतिसाल झैं
ठिङ्ग उभिएको छ
मेरो प्यारो तेमाल
त्यसैले त
मेरो प्यारो तिमिलाई अभिवादन !!!!