काठमाडौंमा रहेका जिल्लाबासीलाइ नेकपा सांसद रोकाको सहयोग



काठमाडौं ६ जेठ । रुकुम पूर्वबाट निर्वाचित नेकपाकी सांसद कमला रोकाले काठमाडौंमा रहेका आफ्ना जिल्लाका बासिन्दालाई राहत प्रदान गरेकी छिन् । लकडाउनका कारण नागरिकको दैनिकी समस्यामा पर्दै गएकाले आफूले सक्दो सहयोग गरेको बताइन् ।

नेकपाको केन्द्रीय सदस्य समेत रहेकी पूर्वमन्त्री रोकाले जिल्लाबाट काठमाडौं आई श्रम गर्दै गरेका मजदुर, सर्वसाधारण तथा विद्यार्थीहरुलाई राहत स्वरुप चामल वितरण गरेकी हुन् । उनले परिवारको संख्या र आवश्यकता हेरेर तत्कालको समस्या समाधान हुने गरी केही सहयोग गरेको जनाइन् । उनले गोलढुंगाका ५१ परिवार, कीर्तिपुरका ६० परिवारका साथै रानीवनका केही परिवारलाई राहत सहयोग उपलव्ध गराइएको जनाइन् । जनताको प्रतिनिधि भएकाले आफ्नो जिम्मेवारी निर्वाह गर्नु स्वभाविक भएको उनको भनाई छ । आफूले चालेको अभियानमा सहयोग गर्ने श्याम श्रेष्ठ, कमल सिटौला, सञ्जय कक्षपति, गोपाल महर्जन, छेवाँग लामा, सुरतजंग मल्ललाई विशेष धन्यवाद दिएकी छिन् ।

लकडाउनमा जिल्ला पुगेकी उनले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि आफ्नो तर्फबाट सक्दो पहल गरेकी छिन् । उनले ४० थान पीपीई सेट, १४ थान थर्मलगन, सेनिटाइजर, झण्डै ७ हजार मास्कसमेत जिल्लामा उपलव्ध गराएकी छिन् । उनले जिल्लाका स्थानीय तहसँग अन्तरक्रिया र छलफल गरेकी थिइन् । उनले कोरोना भाइरसको त्रास बढ्दै गएकाले सबैलाई सुरक्षित रहन र आफू पनि बच्न र अरुलाई पनि बचाउन आग्रह गरेकी छिन् । जिल्लामा एउटा मात्र निर्वाचन क्षेत्र रहेकाले जिल्लाको सबै क्षेत्र र मतदातालाई ध्यान दिनुपरेको बताइन् । उनले को कुन् पार्टीको हो भन्नेतिर नलागी सधैं सबैलाई समान व्यवहार गर्ने बताइन् ।

जिल्लावासीले आफूहरु समस्यामा परेको जानकारी दिएपछि उनले अभियान चालेकी थिइन् । फेसबुकमा आफूलार्ई अप्ठेरो परेको उल्लेख गरेपछि आफ्नो कर्तव्य पूरा गर्ने प्रयास गरेको उनले जनाइन् । लकडाउनका कारण समस्यामा परेका जिल्लावासीलाई स्थानीय तहसँगको समन्वयमा उनले गाउँ पठाउन पहल समेत गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्