कोरोना सङ्क्रमितको मृत्यु भएपछि टोखाको बुद्धमार्ग क्षेत्र सिल
काठमाडौं ५ जेठ । टोखा नगरपालिकामा बस्ने सिन्धुपाल्चोककी एक सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएपछि टोखामा २४ व्यक्तिको स्वाब सङ्कलन गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोलीले आइतबार नगरपालिका–९ स्थित बुद्धमार्गमा २४ जनाको स्वाब सङ्कलन गरेको हो ।
सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ घर भई काठमाडौँको गोँगबुस्थित बुद्धमार्गमा बस्दै आएकी महिलाको शनिबार सिन्धुपाल्चोकबाट उपचारका लागि धुलिखेल अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो ।
टोखा नगरपालिका–९ का वडाध्यक्ष जोगप्रसाद नेपालले संक्रमित बसेको घर, छिमेकी घर र संक्रमितले राहत लिँदा सम्पर्कमा आएका जनप्रतिनिधि तथा सामुदायिक सेवा केन्द्रका कर्मचारीको स्वाब सङ्कलन गरिएको जानकारी दिए ।
स्वाब सङ्कलनको रिपोर्ट आज साँझसम्म आइपुग्ने वडाध्यक्ष नेपालले बताए । टोखा नगरपालिकाले कोरोना सङ्क्रमणबाट मृत्यु भएकी सुत्केरी बस्ने बुद्धमार्ग क्षेत्र शनिबार साँझदेखि आज साँझसम्म सिल गरेको छ ।