अध्यक्ष किराँती काठमाडौंमा, ७ सय परिवारलाई महाकुलुङको राहत
काठमाडौं, २९ बैशाख । सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किराँती शनिबारदेखि राजधानी काठमाडौंका विभिन्न ठाउँमा छरिएर रहेका महाकुलुङबासीहरुको खोजी कार्यमा जुटिरहनु भएको छ। बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि अध्यक्षको हैसियतले गाउँपालिकामा नेतृत्वदायी भुमिका निर्बाह गरिरहेका किराँती चर्को लकडाउनकै बीचमा राजधानी काठमाडौंमा आएर कहिले यता कहिले उता गर्नुको एउटा मात्रै कारण छ, समस्यामा परेका आफ्ना नागरिकहरुलाइ सहयोग गर्नु।कोरोना कहरका कारण उत्पन्न गम्भीर मानबीय संकटका बेला काठमाडौं उपत्यकामा आएर अस्थायी बसोबास गरिरहेका झन्डै ७ सय परिवार महाकुलुङबासीहरुलाइ गाउँपालिकाको तर्फबाट राहत उपलब्ध गराइएको अध्यक्ष किरांतीले जानकारी दिएका छन।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन लम्बिंदै जांदा संकटमा परेका करिब ६ सय ५० जना नागरिकहरुलाइ पहिलो चरणमा काठमाडौंबाट उद्दार गरेको महाकुलुङले दोश्रो चरणमा काठमाडौंमै आएर राहत बितरण गरेको हो। महाकुलुङबाट उपत्यका आइ काठमाडौं,भक्तपुर,ललितपुर र कीर्तिपुरमा छरिएर रहेका अति बिपन्न परिवारलाई राहत बितरण गर्ने क्रममा नारायणथान, हाडीगाउँ टोखा वानियाटार, धुम्वाराही,कपन, गोकर्ण र नयाँबस्ती लगायतका ठाउँमा केन्द्र तोकेर तथा कतिपय ठाउँमा उनीहरूकै बासस्थानमा पुर्याएर राहत बितरण गरिएको अध्यक्ष किंरातीले बताए। अध्यक्ष किंरातीका अनुसार राहत स्वरुप प्रतिपरिवार एक बोरा चामल, ४ केजी दाल र एक लिटर खानेतेल उपलब्ध गराइएको छ।
काठमाडौंमा समस्यामा रहेका नागरिकहरुलाइ राहत बितरण सम्पन्न गरेपछि अब गाउँपालिकाभित्रै सम्पुर्ण ध्यान केन्द्रित गरिने अध्यक्ष किराँतीको भनाइ छ।निश्चित मापदण्डका आधारमा स्थानीयस्तरमा राहत उपलब्ध गराउंनु पर्ने नागरिकहरुको विवरण गाउँपालिकालाई प्राप्त भैसकेको छ, अध्यक्ष किराँतीले भने,’अब गाउँकार्यपालिकाको बैठक गरेर हामी स्थानीयस्तरमा राहत बितरण गर्नेतर्फ केन्द्रित हुनेछौं ।’ यस्तो गम्भीर संकटको बेलामा पनि काठमाडौंमा रहेर विवरण संकलन देखि राहत बितरणसम्म समन्वय र सहजीकरण गर्नुहुने सम्पुर्ण जनप्रतिनिधि, कर्मचारी र महाकुलुङबासीहरुलाइ धन्यवाद ज्ञापन गर्दै अध्यक्ष किंरातीले हरेक संकटको समाधानमा वहाँहरुको रचनात्मक सहयोग गाउँपालिकाका लागि अपेक्षित रहेको बताए।