लिपुलेकमाथि भारतीय हस्तक्षेपको दस दलीय मोर्चाद्वारा कडा बिरोध
काठमाडौं २८ बैशाख । नेकपा (माओवादी केन्द्र) सहित विभिन्न दश राजनीतिक दलहरु र संघ, संगठनहरुले नेपालको लिपुलेकमाथि भारतले हस्तक्षेप गर्दै सडकको उद्घाटन गरेको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन ।

लिपुलेकबाट मानसरोवरसँग सम्बन्ध जोड्ने सडक बनाउनका लागि नेपाली भूमिलाई हस्तक्षेप गरिएको भन्दै उनीहरुले आज संयुक्त विज्ञप्ती जारी गर्दै भारतीय रबैयाको कडा शब्दमा बिरोध तथा भत्र्सना गरेका छन ।
उक्त विज्ञप्तीमा भनिएको छ–‘यो नेपालको सार्वभौमिकतामाथि भारतीय शासक वर्गले गरेको गम्भीर प्रकारको हस्तक्षेप नै हो । यसरी यति ठूलो परिमाणमा सडक निर्माण हुँदा र पुलहरूको निर्माण हुँदा समेत नेपाल सरकारलाई जानकारी नहुनु वा सरकार वेखबर हुनुलाई हामीले गम्भीर रूपमा लिन्छौँ ।’
सरकारको भारतपरस्त नीतिको पनि कडा शब्दमा विरोध गर्दै उक्त विज्ञप्तीमा भनिएको छ–‘यस विषयमा तुरुन्त आफ्नो स्थिति स्पष्ट गर्नका लागि हामीले सरकारसित जोडदार माग गर्दछौँ । अन्तमा भारतीय शासक वर्गको त्यसप्रकारको कदमका विरुद्ध व्यापक रूपले आवाज उठाउनका लागि हामीले सम्पूर्ण देशभक्त नेपाली जनतासित अपील गर्दछौँ ।’