शिशुसहित थप १७ जनालाई कोरोना, ९९ पुग्यो संक्रमितको संख्या
काठमाडौं, २४ बैशाख ।नेपालमा थप १७ जनामा कोरोना संक्रमण देखिएको छ । वीरगञ्जबाट आएको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए । उनीहरु सबै पर्साका हुन।
नयाँ थपिएका कोरोना संक्रमितहरु ७ जना महिला र १० जना पुरुष छ । संक्रमितहरु २ महिनादेखि ६६ वर्षसम्मका भएको पनि उनले जानकारी दिए ।
नवजात शिशुमा अर्थात दुई महिनाको शिशुमा कोरोना देखिएको नेपालमा पहिलो पटक हो । यसअघि ७ वर्षको बच्चामा कोरोना देखिएको थियो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको डा देवकोटाको भनाइ छ । कोरोना संक्रमण निको भएर घर फर्किएका तीन जनामा पुन कोरोना संक्रमण देखिएको छ ।
पुन: कोरोना संक्रमण
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बैशाख ११ गते पाटन अस्पतालबाट डिस्चार्ज भएका पेप्सीकोलाका ५८ वर्षीया पुरुषमा फलोअप परीक्षणमा पुनः कोरोना संक्रमण देखिएको बताए ।
उनलाई अहिले पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरीएको छ । यस्तै बैशाख १९ गते डिस्चार्ज भएका रौतहटका १९ वर्षीया पुरुष र पर्साका ४४ वर्षीया पुरुषको पनि फलोअप टेष्टमा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डाक्टर देवकोटाको भनाइ छ ।
उनीहरुलाई पनि अहिले नारायणी अस्पताल वीरगञ्जको आइसोलेसनमा भर्ना गरिएको प्रवक्ता डा देवकोटाले बताए ।
उनले कोशी अस्पतालमा ६जना निको भएर घर फर्किएको बताए । यो सँगै नेपालमा कोरोना निको हुने संक्रमितको संख्या २२ पुगेको छ ।
प्रवक्ता देवकोटाका अनुसार देशभर कोरोना संक्रमित तथा कोरोना आशंका गरिएका सबै गरी १ सय ३६जना देशभरका अस्पतालमा आइसोलेसनमा रहेकाक छन् ।
प्रवक्ता डा देवकोटाका अनुसार पीसीआर विधिबाट हालसम्म १४ हजार ९६ वटा नमूना परीक्षण गरिएको छ भने आरडीटी विधिबाट ५२ हजार ९ सय ७० वटा नमूना परीक्षण गरीएको छ ।
प्रवक्ता देवकोटाका अनुसार हाल देशभर १९ हजार ७ सय ३४ जना क्वारेन्टाइमा रहेका छन् ।