हिमालय ट्रष्ट र खुन्देको आयोजनामा मन्जुमा कोरोनाबारे जनचेतना



सोलुखुम्बु , २३ बैशाख ।खुम्बु पासाङल्हामु गाउंपालिका तिनमन्जोमा रहेको मन्जु सामुदायिक स्वस्थ्य क्लिनिकमा खुन्दे अस्पताल र हिमालयन ट्रष्टको संयुक्त आयोजनामा एक दिने कोरोना सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।


बिश्वब्यापी महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरस संक्रमणबारे स्थानीयमा जनचेतना जगाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको मन्जो सामुदायिक क्लिनिकका अहेब लाक्पा ग्याल्जेन शेर्पाले जानकारी दिए। मन्जोछुमा,बेकार र जोरसल्लेका स्थानीयहरुको सहभागिता रहेको सो कार्यक्रममा खुन्दे अस्पतालका डाक्टर मिङमा कान्छी शेर्पा र नर्स फुरा डोमा शेर्पाले कोरोना भाइरस र यसबाट जोगिन अपनाउनु पर्ने सतर्कताबारे जानकारी गराएका थिए। कोरोना भाइरस संक्रमण न्यूनीकरणको एकमात्र उपाय सामाजिक दुरी कायम गर्नु र भिडभाडमा नजानु नै भएको स्थानीयलाई उनीहरुको सल्लाह थियो।
कार्यक्रममा अहेब शेर्पाले मन्जो क्लिनिकबाट स्वास्थ्य सेवा लिने बिरामीहरुले रुघाखोकी र ज्वरो आएमा तत्काल सम्पर्क गर्न आग्रह गरेका थिए। खुन्दे अस्पताल र मन्जो सामुदायिक क्लिनिक दुबै हिमालयन ट्रष्टद्वारा सन्चालित स्वास्थ्य संस्था हुन।

प्रतिक्रिया दिनुहोस्