लघु कथा



प्रयास गरे बाँचिन्छ

एक दिनको कुरा हो, भ्यागुतालाई देख्ना साथ सर्पले भनेछ मेरो आजको भोक मेटाई दिने भईस तलाई धेरै धेरै धन्यबाद छ । आँखै अगाडी सर्प देखिए पछि भ्यागुताले आफ्नो अन्तिम दिन आज सम्म मात्र रहेको महसुस गरि सर्पको सहज आहार नबन्ने निधो गर्यो । भ्यागुताले साहसका साथ सर्पलाई भन्यो यदि मलाई खायौ भने तिम्रो पनि अन्तिम दिन आज सम्म मात्रै हुनेछ । आफ्नो पनि मृत्यू हुने कुराले सर्प केहि झस्कियो र क्रुर दृष्टिले सोध्यो -किन र कसरी ? ‘भ्यागुताले बिनयका साथ भनेछ ‘किनकि तिम्रो भन्दा मेरो बिष धेरै तेजिलो र खतरनाक छ ।
तिम्रो सिकार बनेर म त यसै मरि दिउला तर तिमि पनि …..
भ्यागुताले अनेक प्रयास गर्यो तर उसको कुरा सर्पले पत्याउनै मानेन । एक अर्कामा शक्तिको बिबाद बड्दै गयो । भ्यागुतोलाई निलि हाल्न सर्पलाई दुबिदै भयो । अन्ततस् परिक्षण गरेर हेर्ने कुरामा सर्प पनि सहमत भयो । परिक्षणका क्रममा केहि सर्तहरू पालना गर्नु पर्ने सहमति भयो । सर्प र भ्यागुतो कुनै दोबाटोमा कोही मानिसको प्रतिक्षा गरेर बसे । केहि समय पछि एक जना किसान हातमा कोदाली बोकेर खेतमा पानि लगाउन आउदै थिए । सर्प र भ्यागुताले आ(आफ्नो बिषको शक्ति तिनै किसान माथि परिक्षण गर्ने निधो गरेर सहमति अनुसार लुकेर बसे। किसान आउना साथ सर्पले उसको खुट्टामा डसि दियो अनि तत्काल झाडी भित्र लुकेर बस्यो । भ्यागुतो सर्पले डसेको किसानको खुट्टा नजिकै देखा पर्यो । भ्यागुतालाई देखेर किसानले दुखाईको कुनै वास्तै गरेन । उ चुपचाप आफ्नै काम तिर।।।।
केहि छिन पछि भ्यागुताले किसानको अर्को खुट्टामा टोकेर हतपत झाडिमा लुकेर बस्यो । यो पटक सर्त सहमति बमोजिम खुट्टाको ओरीपरि सर्प देखियो । किसान आत्तिदै भ्यागुताले टोकेको खुट्टा सुम(सुमाउदै रून कराउन थाल्यो । भ्यागुताले टोकेको स्थान हेर्दै आफ्नो ज्यान जोखिममा रहेको अईया आथु का अनेक बिलौना गर्दै उपचारका प्राथमिक उपाए खोज्न थाल्यो । यो दृष्य भ्यागुता र सर्प दुबै एक साथ देखि रहेका थिए । तत्पश्चात सर्प चकित भयो । भ्यागुतालाई खाएर मर्नु भन्दा त बरू भोकै बस्नु उत्तम हुने महसुस गरि समयमै जानकारी गराई आफ्नो पनि ज्यान जोगाई दिएकोमा भ्यागुतालाई फेरी पनि धन्यबाद भनि भ्यागुताहरूलाई खान नहुने रहेछ भन्ने महसुस गर्दै सर्प अन्यत्रै लाग्यो ।
मृत्युको मुखैमा आएको भ्यागुतो आफ्नो साहस र चलाखीका कारण बाँचेर रमाउन लाग्यो ।

गजेन्द्र फुयल
ओखलढुङ्गा

प्रतिक्रिया दिनुहोस्