र्‍यापिड टेस्ट: काभ्रे, धादिङ, गोरखा र सप्तरीमा गरी थप पाँचजनामा भेटियो कोरोनाको संक्रमण



 

काठमाडौं ३ बैशाख । र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) ले काभ्रेपलाञ्चोक, धादिङ, गोरखा र सप्तरीमा गरी पाँचजनामा कोरोना संक्रमण देखाएको छ। काभ्रेका एकजनाको रिपोर्ट शंकास्पद आएको छ।

काभ्रेको बेथानचोक ५ च्यासिङखर्कका २८ वर्षीय युवकको आरडिटीका क्रममा कोरोना पोजेटिभ पाइएको स्वास्थ्य शाखा प्रमुख सीताराम तिमल्सिनाले जानकारी दिए।उनी चैत ९ गते भारतबाट आएका थिए। ‘हामीले चैत ३० गते र वैशाख १ गते दुईदुईजनाको र मंगलबार ९ जनाको आरडिटी गरेका थियौं। यीमध्ये एकजनाको कोरोना पोजिटिभ देखियो’, उनले भने। ती युवकलाई धुलिखेल अस्पताल पठाइएको छ।

आरडिटीमा संक्रमित देखिएका युवकसँगै अन्य दुईजना पनि भारतबाट फर्केका थिए। तर उनीहरुको भने नेगेटिभ नतिजा आएको तिमल्सिनाले बताए। बेथानचोक गाउँपालिकामा चैत महिनाभरमा भारतलगायतका मुलुकबाट २० जना आएका गाउँपालिकाको अभिलेखमा उल्लेख छ।

र्‍यापिड टेस्टले काभ्रे, धादिङ, गोरखाका एकएकजना र सप्तरीका दुईजनामा कोरोना संक्रमण पोजेटिभ देखाएको छ।

यस्तै मण्डनदेउपुर नगरपालिका–३ का २३ वर्षीय युवकको मंगलबार आरडिटी परीक्षण हुँदा शंकास्पद नतिजा आएको भन्दै उनलाई धुलिखेल अस्पताल पठाइएको छ। उनी चैत ७ गते दुबईबाट फर्केका थिए। १७ दिनसम्म नगरपालिकाकै क्वारेन्टाइनमा बसेर कुनै लक्षण नदेखिएपछि उनी घर गएका थिए। आरडिटी परीक्षणका क्रममा २० मिनेटमा नतिजा आउनुपर्नेमा नआएपछि शंकास्पद मान्दै उनलाई धुलिखेल पठाइएको परीक्षणमा संलग्न स्वास्थ्यकर्मीले जानकारी दिए।

काभ्रेपलाञ्चोकमा फागुन ३० गतेयता भारतलगायतका तेस्रो मुलुकबाट २ सय ५१ जना फर्केका अभिलेख छ। पहिलो चरणमा विदेशबाट फर्केकाहरुको आरडिटी परीक्षण थालिएको हो। मंगलबारसम्ममा १ सय ९१ जनाको आरडिटी सकिएको छ।

यसैबीच काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट सोमबार धुलिखेलस्थित घरमा आएका युवकको आरडिटी परीक्षण नेगेटिभ आएको छ। उनको स्वाब पिसिआर परीक्षणका लागि धुलिखेल अस्पताल पठाइएको छ। उनलाई घरमै सुरक्षाकर्मीको निगरानीमा राखिएको काभ्रे स्वास्थ्य कार्यालय प्रमुख डा। नरेन्द्रकुमार झाले जानकारी दिए।

यसैगरी धादिङका २७ वर्षीय एक पुरुषमा पनि कोरोना पोजेटिभ भेटिएको छ। जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नं। ३ स्थित मैदी स्वास्थ्यचौकीमा मंगलबार गरिएको आरडिटीले ती युवकमा कोरोना पोजेटिभ देखाएको हो। उनी गत फागुन २० गते दक्षिण कोरियाबाट फर्किएर होम क्वारेन्टाइनमा बसेका थिए। उनको स्वास्थ्य अवस्था सामान्य छ।

ती युवक हेटौंडामा रहेको युनिभर्सल पिस फेडेरेसनमा कार्यरत छन्। गत फेबु्रअरी २ मा अफिसको कार्यक्रमको सिलसिलामा उनीसहित १०÷१२ जनाको टोली दक्षिण कोरिया पुगेको थियो। एकमहिना बसेर ३ मार्च ९फागुन २० गते० फर्किएपछिउनी सीधै हेटौंडा पुगेका थिए। हेटौंडाबाट चैत ३ गते धादिङ फर्किएका उनी होम क्वारेन्टाइनमा बसिरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए। ‘घरमासुरक्षित तरिकाले बसिरहेका ती युवकमारुघाखोकी, ज्वरोजस्तो केही पनि छैन।’

एकसाताअघिरुखाखोकी लागेर घाँटी पनि दुखेपछि उनले टेकु अस्पतालका स्वास्थ्यकर्मीसँग फोनमा परामर्श गरेका थिए। ज्वरो नआएकाले घरमै सुरक्षित तरिकाले बस्न स्वास्थ्यकर्मीले सुझाएका थिए। घाँटी दुखेको एकदुई दिनमै निको भएपछि घरमै आराम गरेर बसेको प्रहरी उपरीक्षक रेग्मीले बताए।

आरडिटीको रिपोर्टलाई पिसिआर विधिबाट पुष्टि गर्न उनको थ्रोट स्वाबटेकु अस्पताल पठाइने स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा। भुवन पौडेलले बताए। ‘विदेशबाट आएकाहरुको ¥यापिड टेस्ट गर्ने क्रममा पोजेटिभ भेटिएको हो,’ उनले भने, ‘टेकु अस्पतालले परीक्षणपश्चात् पुष्टि गरेमा हामीले ज्वालामुखी गाउँपालिकामा विशेष अभियान चलाउनेछौं।’

आरडिटीमा पोजेटिभ देखिएका व्यक्तिमा पनि विस्तृत परीक्षणमा नेगेटिभ देखिन सक्ने भएकाले आतंकित नहुन र थप सचेत भएर बस्न पौडेलले आग्रह गरेका छन्। कोरोना पोजेटिभ भेटेपछि ती युवकलाई जिल्ला अस्पताल धादिङबेसीको आइसोलेसनमा ल्याई काठमाडौं पठाइने बताइएको छ।

धादिङमा ¥यापिड टेस्टका लागि ३ सय किट ल्याइएको थियो। मंगलबारसम्म २ सय ४० जनाको परीक्षण भइसकेको छ। ज्वालामुखीमा मंगलबार २५ जनामा ¥यापिड टेस्ट गरिएकोमाएक जनामा पोजेटिभ भेटिएको गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले जानकारी दिए। यसअघि धादिङको नेत्रावती डबजाङ गाउँपालिकाका एक पुरुषमा कोरोना पोजेटिभ भेटिएको थियो।

उता गोरखाको आरुघाट गाउँपालिकामा एक युवकमा पनि आरडिटीले कोरोना पोजेटिभ देखाएको छ। विदेशबाट फर्किएका २० जनाको आरडिटी गर्दा एक युवकमा कोरोना पोजेटिभ देखिएको हो। ती युवक चैत १ मा बहराइनबाट फर्केका थिए। थप परीक्षणका लागि उनको नमुना पोखरास्थित प्रयोगशालामा पठाइएको छ। युवक आइसोलेसनमा छन्।

यसैगरी सप्तरीमा पनि दुईजनामा आरडिटीले कोरोना संक्रमण देखाएको छ। दिल्लीको निजामुद्दिनस्थित तबलिकी जमातमा सहभागी भएर फर्केका सप्तरीका आठजनामध्ये दुईजनाको संक्रमण देखिएको हो। ‘हामीले सातजनाको आरडिटी गर्दा पाँचजनाको रिपोर्ट नेगेटिभ र दुईजनाको पोजिटिभ आएको छ’, गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालका प्रमुख चुमनलाल दासले भने। सातैजनाको थ्रोट स्वाब पिसिआर टेस्टका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान पठाइएको उनले बताए। ‘संक्रमण देखिएका दुवैजनालाई अस्पतालको आइसोलेसनमा राखेर उपचार सुरु गरिएको छ’, उनले भने।

उनीहरु गत मार्च ८ र ९मा नयाँदिल्लीको निजामुद्दिन मस्जिदमा आयोजित मर्कज९धार्मिक भेला०मा सहभागी भएर जमाती९धर्म प्रचारक०का रुपमा सप्तरी फर्केका थिए। उनीहरु घरमै बसिरहेकोसूचना पाएपछि स्थानीय प्रशासनले कोरोना परीक्षणका लागि आग्रह गरेको थियो। ‘हामीले सम्झाएपछि उनीहरुमध्ये सातजना मंगलबार परीक्षणका लागि राजविराज आएका हुन्’, जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी आनन्द ठाकुरले भने।आठजनामध्येका एकजना अझै परीक्षणका लागि आएका छैनन्। दुईजनामा संक्रमण देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको ठाकुरले बताए।

आठजना जमातीमध्ये खड्ग नगरपालिकाका तीनजना, राजविराज नगरपालिका, सुरुंगा नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, विष्णुपुर गाउँपालिका र अग्नीसाइर कृष्णासवरण गाउँपालिकाका एकएकजना रहेका छन्।

यसैबीच सप्तरीको डिमनस्थित मस्जिदमा भारत इन्दौरका ११ जना मौलाना भेटिएका छन्। उनीहरुले लकडाउन हुनुअघिबाटै उक्त मस्जिदमा बसिरहेको बताएका छन्। उनीहरुलाई मस्जिदमै क्वारेन्टाइन गरिएको सूचना अधिकारी ठाकुरले बताए। उनीहरुको कोरोना परीक्षण गर्ने तयारी भइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्