मुक्तक
मुक्तक १
उषा किरण थापा
अर्घाखाँची ,भुमिकास्थान न.पा–६
हालः काठमाडौं, बनस्थली
समय र साथ नदिनेले घडी दियौ किन
क्षण भरलाई हुने माया बढी दियौ किन
मायाको विश्लेषण गर्नै नसक्नेले पनि
हृदयका कथा व्यथा पढी दियौ किन ?
मुक्तक २
बोल्ने फुर्सद छैन तिमीलाई धेरै सम्झेको छु
तारिफ गर्नेको भिडमा पनि मेरै सम्झेको छु
स्वार्थमा जुट्ने र छुट्नेहरुले नामर्द ,कायर
जे जे भनुन् मैले तिमीलाई शेरै सम्झेको छु ।
मुक्तक ३
यो रंगिन जिन्दगी जिउनुको के सार तिमी छैनौं भने
खै के अभाव महसुस हुन्छ बारबार तिमी छैनौं भने
दृढ छ आस्था भरोसा डगमगाउने छैन कदापी मेरो
गन्तब्यमा पुग्दा हुने, जित पनि हार तिमी छैनौं भने ।
मुक्तक ४
रित्तो लाग्दैछ किन यो जिन्दगी मलाई तिमी बिना
बद्लियो गन्तब्य जिउदैछु मन जलाई तिमी बिना
सम्झनामा मात्र बाँकी छ्न अतितका ती पलहरु,
बल्दैन अब प्रेमको दियो कोरेनि सलाई तिमी बिना