वरिष्ठ पत्रकार मुरारीप्रसाद गौतमलाई सम्झँदा



हरि लम्साल
गत बर्ष २०७५ फागुन १९ गते वरिष्ठ पत्रकार मुरारीप्रसाद गौतमको निधन भयो । ४७ बर्षसम्म रहस्य साप्ताहिक र बाणी पाक्षिकका सम्पादक, प्रकाशक रहेका मुरारी प्रसाद गौतमको दुखद निधनमा हार्दिक श्रद्धाञ्जली ।
१९५८ साल असोज २४ गते शुरु भएको गोरखापत्रलाई आधार मानेर हेर्ने हो भने समयसँगै नेपाली पत्रकारिताले फड्को मारेको छ । छापा माध्यमवाट शुरु भएको पत्रकारिता रेडियो, टेलिभिजन, र अनलाईनमा विस्तार भएको छ । मिडियाको पहुच बिषयगत विविधता र प्रविधिमा धेरै अन्तर आइसकेको छ । पत्रकारितामा हरेक क्षण चुनौतिपूर्ण नै हुन्छ । आधुनिक प्रविधि र सूचनाको पहुचले फाईदाहरु सँगै चुनौति पनि चाङ लागेका छन् । एकातिर प्रेस स्वतन्त्रताका लागि सधै खवदारी गरिरहनु पर्ने अवस्था छ भने अर्को तर्फ सञ्चार उपभोक्ताको माग र फेरिदो शैलिको पनि अभ्यस्त हुनुपरिरहेको छ । २०२९ सालमा रहस्य जासुसी पत्रिका दर्ता भएको हो । २०४७ सालपछि राजसंस्थावादी वनेर वरिष्ठ पत्रकार भएका गौतम घाटीमा क्यान्सर अपरेशन गरेर बाचेका थिए ।
म सँगै करिव ३५ बर्षभन्दा बढी सँगसँगै पत्रकारिता गरिरहेका गौतमले विभिन्न समयमा भन्ने गर्थे –पत्रकारिताको बिकल्प पत्रकारिता नै हो । तर सूचनाकारिता हटाएर समाचार नखोजेसम्म समस्या रहिरहन्छ ।कारण समस्या खोजेर समाचार लेख्दा त्यसले क्षमता बृद्धि गर्छ र पाठकलाई रुचि बढाउछ । राजनीतिक आस्थाका आधारमा सञ्चारमाध्यम संचालन गर्ने प्रबृति हावी हुदै गएको छ । हरेक जसो नेता र तिनका निकट कुनै न कुनै समाचार माध्यमहरु छन् ।
पत्रकारहरु पनि दल, नेता, कर्मचारी, ब्यापारी सवैका अलग अलग छन् । तर पत्रकारितालाई मर्यादित र व्यवसायिक बनाउने मुख्य दायित्व स्वयं पत्रकारहरु कै हो । त्यसैले पत्रकारिताको राजनीतिकरण बन्द गर्नु व्यवसायिक पत्रकारिताको मुख्य धर्म हो । त्यसैले गौतमले भने जस्तै राजनीतिक दलको कार्यकर्ता बनेकाहरुले पत्रकारिताको कुरा गर्न सुहाउँदैन । समाचारको गणस्तरियता र विषयबस्तुमा ध्यान दिन नसक्दा पत्रकारितामा जनचासो र विश्वास घट्दै गएको छ ।
लुकेका र लुकाउन खोजेकाहरुलाई समाचार बनाउनु पत्रकारको मुख्य दायित्व हो । पत्रकार आचारसहिताले पत्रकारले के गर्ने हुने, के गर्न नहुने धेरै कुरा स्पष्ट पारेको छ । कम्तीमा आचारसहिताको पालना गर्ने हो भने पत्रकारिताका आधाभन्दा बढी बेतिथि समाधान हुन्छन् – गौतमले सधै भन्ने गरेका थिए । “राम्रो समाचार कहिल्यै पुरानो हुदैन, सूचना मात्रै पुरानो हुने भएकाले समाचारमा मान्छेको जीवन मुल्य खोज्नु पर्छ । पत्रकारिता जाति, भाषा, धर्म , लिङग, सम्प्रदायमा लक्षित हुदैन । यो स्वच्छ र निष्पक्ष हुन्छ । पेशाले पत्रकार स्वतन्त्र हुन्छ । समाजमा भएका घटनालाई आम नागरिक सामु सही रुपमा पु¥याउन पत्रकारितामा निष्पक्षता र स्वतन्त्रता चाहिन्छ । समाचार निष्पक्ष हुनै हुनुपर्छ । विश्वकै पत्रकारितामा देखिने अभ्यास पनि यहि हो । पत्रकारको धर्म त्यही हो । पत्रकारिता वा पत्रकार प्रभावमा हुर्किन हुदैन अर्थात प्र्रभावमा समाचार लेखिनु हुदैन । आजसम्मको मान्यता र हामीले ग्रहण गरिरहेको वास्तविकता यहि हो ।
मन परेको पार्टी, ब्यक्ति, नेता वा समुहको प्रभावमा हाम्रा समाचारहरु तयार भइरहेका छन् । साँचो अर्थमा आम नागरिकहरु हामीले दिने समाचारप्रति सन्तुष्ट छैनन् । पत्रकारित विस्तारै विश्वसनीय होइन अविश्वासतर्फ अघि बढिरहेको छ । वास्तवमा पत्रकारिता के हो ? यसभित्रको यर्थाथ के हो ? हामी पत्रकारले आचारसहिताभित्र रहेर काम गर्न सकेका छौं ? वा उल्लघन गरिरहेका छांै ? यस्ता विषयमा गम्भिर बन्नै पर्छ । तपाईलाई राजसंस्थावादी पत्रकार भनिन्छ नी ? भन्दा गौतमले हाँस्दै भन्थे कोही पार्टीका पत्रकार बन्छन, कोही समूहका प्रभावमा पर्छन् भने म राजसंस्थावादी पत्रकार भएर के भो ? यथार्थमा भन्ने हो भने म स्वतन्त्र पत्रकार हुँ । कसले के भन्छन् मलाई फरक पदैन । यस्तै हो । स्वतन्त्र पत्रकार बन्नु हाम्रो धर्म र कर्म हो ठान्ने मुरारी प्रसाद गौतमले भन्ने गर्थे– “ म मरे पनि मेरो पत्रकारिता वा पत्रकारिता नमरोस् । अहिले उहाँकी धर्मपत्नी उर्मिला शाहीले भनिन् –मेरो पतिको अन्तिम इच्छालाई पुरा गर्न मैले जि. प्र. का. काठमाडौंमा आफै गएर उहाँका पुरानामित्र मुक्ति बास्तोलालाई प्रकाशक र सम्पादक बनाएर पत्रिका नमर्ने बाचा गराएकी छु । यसैमा मलाई सन्तोष छ ।’ वरिष्ठ पत्रकार मुरारी प्रसाद गौतमको निधनले पत्रकारिता क्षेत्र टुहुरो बनाए पनि रहस्य साप्ताहिक अझ सशक्त र उर्जाशील भएर अगाडि बढोस । यो नै गौतमप्रतिको सच्चा सम्मान र श्रद्धाञ्जली हुनेछ । स्व.गौतमको वार्षिक पुन्यतिथिमा उहाँको स्वर्गवासको कामना गर्दछु ।

प्रतिक्रिया दिनुहोस्