प्रधानमन्त्रीविरुद्धको अबिश्वास प्रस्ताव जीवित छ: देब गुरुङ
काठमाडौं, १२ फाल्गुन ।नेकपा दाहाल-नेपाल समूहका नेता तथा प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्रीविरुद्ध संसद् सचिवालयमा दर्ता भएको अविश्वास प्रस्ताव जीवित रहेको बताएका छन् । बुधबार नेकपा दाहाल-नेपाल समूहको अनौपचारिक संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक गुरुङले प्रधानमन्त्रीविरुद्ध पुस ५ गते दर्ता भएको अविश्वास प्रस्ताव यथावत रहेको बताएका हुन् ।

संसद सुरु भएपछि दलहरुकाबीचमा आपसी समझदारीका आधारमा अविश्वास प्रस्ताव माथिको प्रक्रिया अगाडि बढ्ने बताए । ‘पुुस ५ गते अविश्वास प्रस्ताव दर्ता भइसकेको छ । त्यो प्रस्ताव जीवित रुपमा यथावत रहेको छ,’ उनले भने, ‘सदन सुरु भएपछि दलहरुकोबीचमा आपसी सहमती, समझदारीको आधारमा त्यो प्रक्रिया अघि बढ्ने कुरा हो ।’
सर्वोच्च अदालतको फैसला अनुसार संसदको अधिवेशन बोलाउनैपर्ने कारण प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउन नमिल्ने उनले बताए । गुरुङले बुधबारको अनौपचारिक बैठकमा संसदलाई व्यवस्थित ढंगले सञ्चालन गर्ने, संसदमा पैदा हुने विभिन्न एजेण्डाहरुमा विषयगत आधारमा आवश्यक सहकार्य गर्दै जाने र दललाई प्रभावकारी र सशक्त बनाउने विषयमा छलफल भएको बताए ।
सर्वोच्च अदालतले संविधान र संसदको रक्षा गरेको भन्दै नेताहरुले एक आपसमा खुसी र बधाई साटासाट गरेको पनि बताए । संसदीय दलको अनौपचारिक बैठकमा पार्टी अध्यक्षद्धय पुष्पकमल दाहाल, माधवकुमार नेपाल र बरिष्ठ नेता झलनाथ खनालले वर्तमान राजनीतिक परिस्थितिको बारे ब्रिफिङ गरेका थिए ।

