जनसमर्थन कस्तो हुन्छ हेर्न आउन प्रचण्डलाई प्रम ओलीको चुनौति

काठमाडौं, १ फागुन । ३ दिन अघि काठमाडौंमा भएको प्रचण्ड–माधव नेपाल पक्षको विरोधसभामा प्रचण्डले ‘जनसहभागिता हेर्न यहाँ आउनुस् केपीजी’ भनि दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले जबाफ फर्काएका छन् । उनले प्रचण्ड–नेपाल पक्षले काठमाडौंमा गरेको विरोधसभाका लागि देशभरबाट मान्छे ओसारेपनि जनसहभागिता नदेखिएको दावी गरे ।

बुटवलमा शनिबार नेकपा ओली समूहले गरेको जनसभाका क्रममा ओलीले देशभरबाट नभइ प्रदेशस्तरको सभामा नै हजारौंको सहभागिता रहेको बताए ।
‘अस्ति ३ दिनअघि मात्रै देशभरबाट मान्छे जम्मा गरेर अलीकति मान्छे देखेपछि मान्छे हेर्न यहाँ आउ केपी ओली भनेर केही मान्छेले भनेका थिए । आज म देशभरीको होइन, लुम्बिनी प्रदेशको यो बुटवल आयोजित जनसभा हेर्नका लागि आउन म उहाँहरुलाई आग्रह गर्न चाहन्छु’, ओलीले प्रचण्डको नामै नलिइ भने, ‘आउनुस् जनसमर्थन कस्तो हुन्छ । उनले ‘तपाईहरुले यसको जबाफ दिनु भएको छ’ भन्दै आयोजकलाई धन्यवाद समेत दिए ।
उनले सभास्थलमा मात्रै सडकमा बसेर पनि दशौँ हजारले भाषण सुनिरहेको दावी गरे । उनले भने, ‘यो सभास्थलमा मात्रै होइन मेरो दाहिने पट्टी नदेखिने गरी टाढासम्म जनसमूदायको उपस्थिति छ । मेरो देब्रेपछि पनि, त्यसैगरी विशाल जनसमूदाय तालजालीभन्दा बाहिर सडकसम्म छ । म आउँदा देखेँ, कार्यक्रमस्थलमा बस्ने ठाउँ नभएर कार्यक्रम सुनेर दशौ हजारको संख्यामा बाहिर सडकमा हुनुहुन्छ। तपाईँहरुको उपस्थितिलाई म सलाम भन्न चाहन्छु ।’
उनले स्थिरताको पक्षमा जनलहर देखिएको भन्दै आफूले सबैलाई सलाम भन्न चाहेको पनि बताए । आउँदो चुनावको स्वागतका लागि व्यक्त गरेको अभिमतलाई पनि सलाम भन्न चाहेको उनले बताए ।
ओलीले आफ्नो नेतृत्वको सरकारले तीन वर्षमा गरेको काम देखेर विरोधीहरु छट्पटाएको आरोप पनि लगाए ।
उनले तीन बर्षमा सरकारले असाधारण काम गरेको र त्यसबाट विरोधीहरु डराएर आफ्नै पार्टीको नेतृत्वको सरकार ढाल्न लागि परेको पनि बताए ।
ओलीले भने, ‘विरोधीहरु यत्तिकै आत्तिएका होइनन्, यतिकै छट्पटाएका होइनन्, हामीले असाधारण विकास गरेका छौ । र उनीहरुले के सोचे भने अरु केही बर्ष समान्यतया २ बर्ष सरकार चल्थ्यो । अरु डेढ २ बर्ष यो सरकार चल्यो भने फेरि जनताका वीचमा जाँदा अरुका वाकस रित्तै हुन्छन्, खाली नेकपाको बाकस मात्रै भरिन्छ ।’
त्यसकारण अहिले नै सरकार ढाल्नुपर्छ भनेर देशी विदेशी षड्यनत्रकारीहरु जुमजुमाएको ओलीको भनाइ छ ।

