हिमाली बौद्धमार्गीहरु भब्यतापूर्बक आज ल्होसार पर्ब मनाउंदै



काठमाडौं, ३० माघ।हिमाली बौद्धमार्गी शेर्पा समुदायले आज ग्याल्पो ल्होसार २१४८ तथा तामाङ समुदायले सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व मनाउँदैछन् । माघ शुक्ल प्रतिपदाका दिन दुवै समुदायले ल्होसार अर्थात नयाँ बर्ष विविध कार्यक्रम गरी भब्यतापूर्बक मनाउँने प्रचलन रहंदै आएको छ ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश भएसँगै २८५७औँ वर्ष सुरु हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा सोनाम ल्होसार पर्व मनाइँदै आएको छ ।

सोनाम ल्होसारको अवसरमा आज सरकारले सार्वजनिक बिदा पनि दिएकाे छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपंक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको मानिन्छ । तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशमा विशेष रुपमा मनाइने यस पर्वमा बौद्ध क्षेत्रमा विभिन्न कार्यक्रम गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्