फागुन १२ देखी २० औं अनशन बस्ने डा. गोबिन्द केसीको घोषणा

काठमाडौं ३० माघ । डा. गोविन्द केसीले आगामी १२ फागुनदेखि २०औँ आमरण अनशन बस्ने घोषणा गरेका छन् । राजधानीमा बिहीबार पत्रकार सम्मेलन गरेर डा. केसीले तीनबुँदे माग अघि सारेका छन् ।

अवैधानिक रूपमा गरिएको प्रतिनिधिसभा विघटनको प्रयासबाट संविधानको रक्षा गरिनुपर्ने,अवैध रूपमा संवैधानिक निकायहरूमा गरिएका नियुक्ति रद्द गरिनुपर्ने र
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने माग डा. केसीले अघि सारेका छन।
संविधानको मर्म मारेर एक व्यक्ति सर्वेसर्वा हुने र राज्यका सबै संस्थाले उसको स्वार्थअनुसार काम गर्ने अधिनायकवादी व्यवस्था संस्थागत गर्ने प्रयास भइरहेको दाबी गर्दै केसीले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको इमानको परीक्षण हुने पनि बताएका छन् । संविधानमाथि भएको निरंकुश प्रहारलाई निस्तेज पार्ने आफ्नो मौलिक कर्तव्य पूरा गर्न अहिंसात्मक पहलकदमी लिन सम्पूर्ण नागरिक पंक्तिलाई केसीले अपिल पनि गरेका छन् ।

