कांग्रेसका १३ वडा भातृ संगठनले सरकारविरुद्ध भोलि जनप्रदर्शन गर्ने



काठमाडौं,१८ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आवद्ध १३ वटा भातृ संस्थाहरुले भोलि सरकारविरुद्ध संयुक्त जनप्रदर्शन गर्ने भएको छ । नेपाली कांग्रेसका १३ वटा भातृ संस्थाहरुले आइतबार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् ।

विज्ञप्तिमा जनप्रदर्शनमा सबैलाई सहभागी हुन अपिल गरिएको छ । प्रधानमन्त्री केपी ओलीले हठात् रुपमा प्रतिनिधिसभा विघटन गरी संविधानको धज्जी उडाएको भन्दै भातृ संस्थाहरुले सशक्त आन्दोलन गर्ने जनाएका हुन् ।

जनप्रदर्शन देशका ७७ वटै जिल्लामा एकैपटक गर्ने तयारी भएको छ । ओलीको गैरसंवैधानिक कदम सच्याउन प्रतिनिधिसभा पुनस्थापना गरी भ्रष्टाचार कुशासनलगायत सर्वसत्तावादीलाई परास्त गर्न सबै नेपाली सडकमा ओर्लन आह्वान गर्दछौं – विज्ञप्तिमा भनिएको छ ।

यसरी विज्ञप्ति जारी गर्नेमा नेपाल महिला संघ,तरुण दल, नेविसंघ, नेपाल तामाङ संघ,नेपाल किसान संघ, नेपाल दलित संघ,नेपाल भूतपूर्व सैनिक संघ, नेपाल आदिवासी जनजाति संघ,नेपाल लोकतान्त्रिक अपाङ्ग संघ,नेपाल मुस्लिम संघ,नेपाल राष्ट्रिय मगर संघ र नेपाल ठाकुर समाज रहेका छन् । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि देश आन्दोलनमय भएको छ ।

प्रतिक्रिया दिनुहोस्