नेकपा एक बनाउन बामदेबले सुरु गरे ‘पार्टी एकता राष्ट्रिय अभियान’

काठमाडौं ।सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल एकले अर्कोलाई भित्तामै पुर्याउने गरि मुलुकब्यापी अभियानमा लागि रहेका बेला पार्टी उपाध्यक्ष उपाध्यक्ष वामदेव गौतमले भने ‘पार्टी एकता राष्ट्रिय अभियान’को घोषणा गरेका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै गौतमले अहिले नेपालका सम्पूर्ण श्रमजीवी जनता,लाखौं पार्टी सदस्यहरु, हजारौं कार्यकर्ता र नेताहरु पार्टी विभाजन नहोस् भन्ने पक्षमा भएको बताए ।
उनले सोही माग र चाहनालाई पुरा गर्ने उद्देश्यले एकता राष्ट्रिय अभियान सञ्चालन गरिरहेको बताए । एकता अभियानको मूल उद्देश्य विभाजित नेकपाका दुबै समूहलाई पुनः एकतामा ल्याउन रहेको भन्दै गौतमले साथसाथै पहिले एकतामा आउन नसकेका र छरिएर रहेका विभिन्न कम्युनिष्ट तथा वाम–प्रगतिशील समूह एवं व्यक्तिहरुलाई पनि अभियानमार्फत् एकतावद्ध गर्ने उद्देश्य राखिएको जानकारी दिए । गौतमले पार्टी एकताका आधारबारे अवधारणापत्र सार्वजनिक समेत गरेका छन् ।

