प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथिको सुनुवाइ पुस २९ गतेको लागि सर्यो

काठमाडौं,२२ पुस । संवैधानिक इजलासमा रहेका एक न्यायाधीश हरिकृष्ण कार्कीले प्रतिनिधि सभा विघटनविरुद्धको रिट नहेर्ने भएपछि सर्वोच्च अदालतका सुनुवाइ पर सरेको छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट हेर्नका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको नेतृत्वमा पाँच न्यायाधीशको संवैधानिक इजलास गठन गरिएको थियो ।

पुस १० गते हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेको इजलास गठन भएको थियो । सोही इजलासमा बुधवार बहस शुरू भएको थियो । वरिष्ठ अधिवक्ता शम्भु श्रेष्ठले विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीको महान्यायाधिवक्ता रहिसकेको व्यक्तिले प्रधानमन्त्रीलाई विपक्षी बनाइएको रिट हेर्न मिल्छ भन्दै प्रश्न उठाएका थिए ।
त्यसपछि न्यायाधीश कार्कीले प्रतिनिधि सभा विघटनविरुद्धको रिटको सुनुवाइका क्रममा संवैधानिक इजलासमा नबस्ने बताएका थिए । प्रतिनिधि सभा विघटनविरुद्धको रिट लगातार हेर्ने तयारी भएकोमा एक न्यायाधीश नबस्ने भएपछि अर्को इजलास गठन गरेर बुधवारका लागि सारिएको छ ।
रिट निवेदकमध्येका एक अधिवक्ता लोकेन्द्र ओलीले रिटको अर्को सुनुुवाइ बुधवारका लागि तोकिएको जानकारी दिए । बुधवारको बहसममा वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ र दिनेश त्रिपाठीले प्रतिनिधि सभा विघटनविरुद्धको रिटको सुनुवाइ वृहत् पूर्ण इजलासमा गर्नुपर्ने माग गरेका थिए ।

