उत्तर कोरियाली नेता किम जोङ उनको विलासी जीवनशैली



एजेन्सी । उत्तर कोरियाली तानाशाह किम बेलाबेलमा चर्चामा आइरहन्छन् । किमले लगातार आणविक कार्यक्रम बलियो बनाइराखेका छन् । आणविक बम र क्षेप्यास्त्र परीक्षणका कारण संयुक्त राष्ट्रसंघले उत्तरमाथि प्रतिबन्ध लगाएको छ । यसले गर्दा त्यहाँका जनताको जीवनमा अप्ठ्यारो पर्न गएको छ ।

त्यहाँ पाँचमध्ये दुई मानिस कुपोषणग्रस्त भएको बताइन्छ ।

तर किम आफू चाहिँ भोगविलासका लागि करोडौं रुपैयाँ खर्च गर्छन् । दक्षिण कोरियाको जासूसी संस्थाले संसदमा पेश गरेको प्रतिवेदनअनुसार किमको महंगो शोख यस्तो छ :

उत्तर कोरियामा बन्ने रक्सी सस्तो छ र सजिलै पाइन्छ । तर किमलाई यसको स्वाद मन पर्दैन । त्यसैले उनी हरेक वर्ष दुई अर्ब रुपैयाँको रक्सी चीन, जर्मनी र फ्रान्सबाट आयात गर्छन् । उनलाई ह्विस्की र ब्रान्डी खुबै मन पर्छ । हेन्नेसी ब्रान्डको रक्सीको एउटै बोतलको दुई लाख रुपैयाँ पर्छ र किम त्यसलाई खुबै रुचाउँछन् ।

किम खानेकुरामा कुनै सम्झौता गर्दैनन् । उनी डेनमार्कबाट उच्च स्तरको सुंगुरको मासु मगाउँछन् अनि इरानबाट माछाको अण्डा । त्यस्तै जापानबाट कोबे बीफ पनि मगाउँछन् । यसको खर्चको आँकडा लाखौंमा छ ।

उनलाई फ्रान्सको डिजाइनर सिगरेट मन पर्छ । यीभेस सेन्ट लरेन्ट नामक यो चुरोटको एक बट्टाको मूल्य ४६ सय रुपैयाँ छ । त्यसलाई राख्ने छालाको भाँडोलाई नै १६ हजार रुपैयाँ पर्छ ।

किमको विलासी जहाज अर्थात् याट पनि छ । किमका साथी तथा पूर्व बास्केटबल खेलाडी डेनिस रोडम्यानले यसको बारेमा जानकारी दिएका थिए । यो याटको मूल्य करीब ८० करोड रुपैयाँ छ ।

तानाशाह किमसँग बीस हजार हलिउड फिल्मको संकलन छ । त्यसो त उत्तर कोरियामा फिल्म आयात गर्न पाइँदैन तर किम आफू चाहिँ हलिउड फिल्मका प्रशंसक हुन् । उनीसँग फिल्म हेर्नका लागि हजार सीट क्षमताको निजी सिनेमाहल पनि छ ।

किमलाई सार्वजनिक समारोहमा महंगा घडी विना देख्नै पाइँदैन । उनीसँग ८४ करोड रुपैयाँ बराबरको घडीको संकलन रहेको बताइन्छ । धेरैजसो घडीहरू स्विट्जरल्यान्डबाट आयात गरिएका हुन् ।

किमले सन् २००९ को जुन महिनामा बिहे हुँदा श्रीमती री सोललाई महंगो उपहार दिएका थिए । डेढ लाख रुपैयाँभन्दा बढी पर्ने क्रिस्टियन डायर झोला उनले श्रीमतीलाई दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्