सोलु कांग्रेसले २९ गते सल्लेरीमा बिरोध प्रदर्शन गर्ने

केदार वस्नेत

सोलुखुम्बु,२७ मंसिर । नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सोलुखुम्बुको आयोजनामा सोमबार सदरमुकाम सल्लेरीमा बिरोध प्रदर्शन गरिने भएको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको बर्तमान सरकारको सर्बसत्ताबादी प्रवृत्ति तथा तमाम भ्रष्टाचार र बेथितिकाविरुद्ध सो प्रदर्शन गर्न लागिएको सोलुखुम्बु कांग्रेसका प्रचार प्रमुख नवीन थापाले रहस्यखबरलाई बताए ।
पार्टी केन्द्रले गरेको निर्णय अनुसार आयोजना गरिएको सो प्रदर्शनमा सहभागी हुन कांग्रेसले जिल्लाका सबै भातृ तथा शुभेच्छुक संस्थाका नेता तथा कार्यकर्ता आग्रह पनि गरेको छ।
गृह जिल्ला तनहुँ पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले गिरफ्तार गरे लगत्तै पार्टी सभापति शेरबहादुर देउवा निबास बुढानिलकण्ठमा बसेको कांग्रेसका बर्तमान तथा पूर्ब पदाधिकारी बैठकले गएको हप्ता ७७जिल्ला सदरमुकाममा बिरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो।बिरोध प्रदर्शनका लागि कांग्रेसले केन्द्रीय नेताहरुलाइ विभिन्न जिल्ला खटाइसकेको छ।

