देशभर जनता जागेका छन,राजसंस्था पुनर्स्थापना गर : अध्यक्ष राणा

काठमाडौँ,१५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले राष्ट्रहितलाई केन्द्रमा राखेर राजसंस्था र हिन्दू राष्ट्रप्रतिको जनलहरलाई तार्किक निष्कर्षमा पुर्याउनु अहिलेको आवश्यकता रहेको बताएका छन। राजसंस्था पुनर्स्थापनाको माग गर्दै मुलुकब्यापी प्रदर्शन भैरहेका बेला आइतबार एक सन्देश जारी गर्दै अध्यक्ष राणाले सो कुरा बताएका हुन।

नेपाल र नेपाली बचाउन राजसंस्था र हिन्दू राष्ट्रको माग गर्ने जनताको आवाज सकारात्मक र सराहनीय रहेको बताउंदै अध्यक्ष राणाले सम्बर्द्धनवादमा अभ्यस्त, जनता माझको राजनीतिक दल भएबाट राप्रपाले यही जनभावनाको समर्थन र पैरवी गर्दै आएको स्मरण गराए।
‘यसबीच पद्धतिमाथिकै बहस देशव्यापी बन्नु आश्चर्य भएन। देशका कुनाकुना जनता जागेका छन्। वाक्कदिक्क छन्, विकल्पको खोजीमा छन्। नेपाली जनता, युवापिढी सडकमा आएका छन्। नेपाल र नेपाली बचाउन राजसंस्था र हिन्दु राष्ट्रको जोडदार माग गर्दैछन्, जो सकारात्मक छ, सह्रानीय छ, प्रजातन्त्र अनुकूल छ,’ राणाले भने।
परिवर्तन जनचाहना विपरीत गएको भन्दै राणाले सरकार, सत्तारुढ दल र राष्ट्रपतिको भूमिकासमेत आलोचना गरे।

