नेकपा सचिवालय बैठक १० दिनका लागि स्थगित

काठमाडौं ३ मंसिर । पार्टीको आन्तरिक विवाद चुलिएका बेला बसेको नेकपा सचिवालय बैठक १० दिनका लागि स्थगित भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पेस गरेको राजनीतिक प्रतिवेदनको जवाफ दिन आफूलाई समय लाग्ने बताएपछि बैठक स्थगित भएको हो । अर्को बैठकमा प्रधानमन्त्री ओलीले पनि राजनीतिक प्रतिवेदन पेस गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री ओलीले पनि केही समयदेखि पार्टी नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताउँदै आएका छन् ।

यसैबीच पार्टीको सचिवालय बैठकमा महासचिव विष्णु पौडेलले सबै सचिवालय सदस्यले सामूहिक राजीनामा दिन प्रस्ताव राखेका छन् ।बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकमा पौडेलले नेकपाभित्र अहिले जारी विवाद कायम रहे आफूहरू कम्युनिष्ट आन्दोलनको अन्तिम मलामी हुने बताएका थिए । यस्तो हुन नदिन हामी नौ जनाले नै सचिवालय सदस्यबाट राजीनामा दिऔं र स्थायी समितिमा नयाँ पुस्तालाई सचिवालयमा ल्याउन प्रस्ताव लैजाऔं,’ पौडेलले बैठकमा भनेको कुरा उल्लेख गरिएको छ ।

