रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि सर्वसाधारणका लागि खुला



काठमाडौं,२५ कार्तिक । भाइटीकाको अवसरमा काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ। वर्षमा एक दिन भाइटीकाका अवसरमा मात्रै खुल्ने यो मन्दिरमा दिदीबहिनी तथा दाजुभाइ नहुनेहरू पूजा–आराधना र दर्शनका लागि पुग्ने गर्छन्।

मन्दिरमा पुगेर पूजा तथा दर्शन गरेपछि टीका लगाउने परम्परा छ। भक्तजनको आगमन जारी रहेसम्म मन्दिर खुला राख्ने व्यवस्था गरिएको छ । विसं २०३५ देखि रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर भाइटीकाका दिन नियमित रूपमा खुलाउन थालिएको हो।

यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व मनाइँदै छ। यस अवसरमा दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, सुस्वास्थ्य, सुख, समृद्धि र ऐश्वर्यको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिने चलन छ। पर्वमा दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाई उपहार तथा दक्षिणा दिने परम्परा छ।

प्रतिक्रिया दिनुहोस्