कात्तिक २८ गते प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिने तयारीमा मुख्यमन्त्री यादव
जनकपुरधाम,२५ कार्तिक । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले विश्वासको मतका लागि संसद्को बैठक बोलाउन भन्दै प्रदेश सभालाई आग्रह गरेका छन्।

यादवले बुधबार प्रदेश सभाको कार्यालयलाई पत्र लेख्दै विश्वासको मतका लागि बैठक बोलाउन आग्रह गरेका हुन्।कात्तिक २८ गते दिउँसो १ बजे सदनको बैठक बोलाउनका लागि मुख्यमन्त्री यादवले प्रदेश प्रमुखलाई आग्रह गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
सरकारमा सहभागी दलमध्ये कुनै दलले समर्थन फिर्ता लिएपछि सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान छ ।गत असोजमा मधेस सरकारबाट एमाले बाहिरिएको थियो। संसद् बैठकलाई सम्बोधन गरेर मुख्यमन्त्री यादवले राजीनामा दिने तयारी गरेको एक मन्त्रीले बताए ।
तीनदलीय गठबन्धनको सरकारबाट नेकपा एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
यद्यपि, मधेश प्रदेशमा अब नयाँ सरकार कसको नेतृत्वमा बन्ने भन्ने टुंगो लागिसकेको छैन । विभिन्न दलले आ–आफ्नो नेतृत्वमा सरकार बन्ने दाबी गरिरहेका छन् । तर, जसपा नेपालले तत्काल सरकारमा सहभागी हुने चासो नदेखाउँदा नयाँ सत्ता समीकरणबारे अन्योल कायमै छ ।
नयाँ गठबन्धनमा कुन–कुन दल सहभागी हुने र कसको नेतृत्वमा सरकार बन्ने भन्ने विषयसमेत अझै स्पष्ट हुन सकेको छैन ।


