एक्कासी आएको असिना र हावाहुरीले त्रिभुवन विमानस्थलको उडान प्रभावित
काठमाडाैँ,२५ कार्तिक । काठमाडौँमा बुधबार दिउँसो एक्कासि मौसम परिवर्तन भई बाक्लो असिनासहित वर्षा र हावाहुरी चलेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको छ।

दिउँसो करिब १:४५ बजेदेखि विमानस्थलको धावनमार्ग (रनवे) तथा ट्याक्सी–वे क्षेत्रमा बाक्लो असिना जमेपछि विमानस्थल बन्द गरिएको हो। अचानक आएको मौसम बदलावका कारण अवतरण गर्नुपर्ने अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका गरी आठवटा जहाज आकाशमै होल्ड भएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सञ्जयकुमारका अनुसार असिनाका कारण उडान सञ्चालन रोकिएको हो। “एक्कासि असिनासहित पानी पर्यो। ट्याक्सी–वेदेखि रनवे ‘२०’ सम्म बाक्लो असिना परेको छ,” उनले भने, “यो महिना सामान्यतया यस्तो मौसम देखिँदैनथ्यो, यो नौलो घटना हो।”
विमानस्थलसँग असिना हटाउने छुट्टै उपकरण नभएकाले उद्धार तथा अग्निनियन्त्रण सेवा (आरएफएफ) को दमकल प्रयोग गरी धावनमार्ग सफा गर्ने काम भइरहेको छ।
मौसम बिग्रेपछि आन्तरिकतर्फ राजविराजका लागि उड्न तयार रहेको बुद्ध एयर र बैंकक जाने तरखरमा रहेको थाई एयरवेजको जहाज पार्किङ–वेमै फर्किएका छन्।
यसैबीच, वर्षा र असिनापछि विमानस्थलको आन्तरिक प्रस्थान कक्षमा पानी चुहिने समस्या देखिएको छ। सुरक्षा जाँच चेक हुने क्षेत्रको छतमा रहेका प्यानल लाइटहरूबाट पानी चुहिएको विमानस्थल प्रशासनले जनाएको छ।
मौसममा सुधार आई धावनमार्ग सञ्चालनयोग्य भएपछि मात्र नियमित उडान पुन: सुरु गरिने विमानस्थल अधिकारीले बताएका छन्।


