भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान अझ प्रगाढ बनाउँछ : प्रधानमन्त्री शाह

काठमाडौं,२५ कार्तिक । प्रधानमन्त्री बालेन्द्र शाहले भाइटीका तथा यमपञ्चकको अन्तिम दिनका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाहले भाइटीकाको पावन अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका हुन्।
उनले पौराणिक मान्यताअनुसार कार्तिक शुक्ल द्वितीयाका दिन बहिनी यमुनाको निमन्त्रणामा यमराज उहाँको निवासमा पुग्नुभएको र यमुनाले विधिपूर्वक टीका तथा पूजा गरी आदरसत्कार गर्नुभएको प्रसङ्ग उल्लेख गरेका छन्।
बहिनीको प्रेम, निष्ठा र आतिथ्यबाट प्रसन्न यमराजले यस दिन बहिनीबाट टीका तथा पूजा ग्रहण गर्ने दाजुभाइलाई मृत्युको भयबाट मुक्ति, दीर्घायु, सुस्वास्थ्य र सौभाग्य प्राप्त हुने वरदान दिएको धार्मिक विश्वास रहेको उनले बताएका छन्।
भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै दूबो, मखमली तथा सयपत्रीको माला लगाइदिने, ओखर फुटाउने, तेलको रेखाले छेक्ने र सप्तरङ्गी टीका लगाइदिने परम्परा रहेको पनि उनले स्मरण गरेका छन्।
त्यस्तै, दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार दक्षिणा प्रदान गरी आशीर्वाद ग्रहण गर्ने चलन रहेको उल्लेख गर्दै उनले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन्।


