दसैँ पारिवारिक मिलन, आत्मीयता र आपसी सद्भाव अभिवृद्धि गर्ने महत्त्वपूर्ण अवसर : प्रधानमन्त्री शाह



काठमाडौं,३१ असोज। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बडादसैँले नेपाली समाजमा एकता, आत्मीयता र सांस्कृतिक सद्भावको सन्देश दिने बताएका छन्। बडादसैँको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत शनिबार बिहान शुभकामना सन्देश जारी गर्दै उनले सत्यको मार्गमा अघि बढ्न, सुशासन कायम गर्न र समृद्ध राष्ट्र निर्माणमा जुट्न सबैलाई आह्वान गरेका हुन्।

प्रधानमन्त्री शाहले बडादसैँले विश्वभर छरिएर रहेका नेपालीलाई एकताबद्ध गर्ने विश्वास व्यक्त गर्दै यस पर्वले प्रत्येक घरपरिवारमा उत्साह, उमङ्ग र खुसी ल्याओस् भन्ने कामना गरेका छन्।

उनले नेपाली समाजमा दसैँको धार्मिक, सामाजिक तथा सांस्कृतिक महत्त्व सदियौँदेखि रहँदै आएको उल्लेख गर्दै टीका र जमरा ग्रहण गरी अग्रजबाट आशीर्वाद लिने परम्परा सानालाई माया र ठूलालाई आदर गर्ने नेपाली मौलिक संस्कृतिको प्रतिबिम्ब भएको बताएका छन्। दसैँ पारिवारिक मिलन, आत्मीयता र आपसी सद्भाव अभिवृद्धि गर्ने महत्त्वपूर्ण अवसरसमेत भएको उनको भनाइ छ।

विभिन्न विपद् र सङ्कटबीच पनि नेपालीले आफ्नो धर्म, संस्कृति, परम्परा र मौलिकताको संरक्षण गर्दै चाडपर्व मनाउँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले रसुवा,नुवाकोट र गोरखालगायतका स्थानमा भएका विनाशकारी घटनाबाट प्रभावित नागरिकप्रति समवेदना व्यक्त गरेका छन्। उनले विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै, विस्थापित नागरिकको पुनःस्थापनाका लागि सरकारले काम गरिरहेको पनि बताएका छन्।

दसैँलाई असत्यमाथि सत्य र आसुरी प्रवृत्तिमाथि दैवी शक्तिको विजयका रूपमा लिइने उल्लेख गर्दै उनले समाजमा विद्यमान गलत प्रवृत्तिको अन्त्य गर्न र व्यक्तिले आफैँभित्र रहेका काम, क्रोध, लोभ, ईर्ष्या तथा अहङ्कारजस्ता दुर्गुणमाथि विजय प्राप्त गर्नुपर्नेमा जोड दिएका छन्।

प्रधानमन्त्री शाहले रोजगारी तथा अन्य बाध्यताका कारण विदेशिनुपर्ने नेपालीको अवस्था र चाडपर्वमा समेत परिवारसँग भेटघाट गर्न नपाउने नागरिकको पीडाप्रति चिन्ता व्यक्त गरेका छन्। गाउँघरका घरआँगन रित्तिँदै जानु दुःखद् यथार्थ भएको उल्लेख गर्दै उनले यस्तो अवस्था परिवर्तन गर्न सबैको सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्।

आर्थिक अभावका कारण दसैँजस्तो महान् पर्व कसैका लागि पनि बोझ बन्न नहुने धारणा राख्दै प्रधानमन्त्री शाहले नागरिकको आर्थिक समृद्धि र सुखद् जीविकोपार्जन सरकारको प्राथमिकतामा रहेको बताएका छन्। देशलाई सुशासन र समृद्धिको मार्गमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ।

अन्त्यमा उनले माता दुर्गाभवानीले सबैको रक्षा गरून् भन्ने कामनासहित सम्पूर्ण नेपालीमा बडादसैँका अवसरमा आरोग्य,सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्