देशभर कुल १ करोड ९० लाख ९१ हजार ३७५ मतदाता कायम, हटाइयो १ लाख ५८ हजार २६४ जनाको नाम
काठमाडौं,३१ असोज ।निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ।आयोगले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार देशभर कुल १ करोड ९० लाख ९१ हजार ३७५ मतदाता कायम भएका छन्।

आयोगका अनुसार अन्तिम मतदाता नामावलीमा पुरुष ९७ लाख ६९ हजार ८२५, महिला ९३ लाख २१ हजार ३३६ र अन्य २१४ जना रहेका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को तुलनामा मतदाता संख्या १ लाख ८७ हजार ६८६ ले बढेको छ। उक्त निर्वाचनमा महिला ९२ लाख ४० हजार १३१, पुरुष ९६ लाख ६३ हजार ३५८ र अन्य २०० गरी कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता थिए।
आयोगले २०८२ चैत २२ गतेदेखि नियमित रूपमा मतदाता नामावलीमा नयाँ नाम दर्ता, विवरण सच्याउने, ठेगाना स्थानान्तरण गर्ने तथा मृत्यु भएका मतदाताको नाम हटाउने काम गर्दै आएको थियो।
यस क्रममा २०८३ भदौ १५ गतेसम्म नाम दर्ता गराएका र सोही मितिसम्म १८ वर्ष उमेर पूरा गरेका व्यक्तिलाई समावेश गरी असोज १ गते प्रारम्भिक मतदाता नामावली प्रकाशन गरिएको थियो।
प्रारम्भिक नामावलीमा १ करोड ९२ लाख ९४ हजार ९६१ मतदाता समावेश थिए। चैत २२ देखि भदौ १५ गतेसम्म १८ वर्ष उमेर पूरा गरेका ४ लाख ३० हजार ३५२ जनाको नाम थपिएको थियो भने मृत्यु, दोहोरो नाम तथा नागरिकता त्याग वा रद्दलगायतका कारण ३९ हजार ८० जनाको नाम हटाइएको थियो।
त्यसपछि प्रारम्भिक नामावलीमाथि दाबीविरोध तथा विवरण जाँचबुझ गर्ने क्रममा थप २ लाख ३ हजार ५८६ जनाको नाम हटाइएको आयोगले जनाएको छ।
जसमध्ये मृत्यु भएका ४५ हजार ३२२ जना र दोहोरो नाम, नागरिकता त्याग वा रद्द तथा दाबीविरोधलगायतका कारण १ लाख ५८ हजार २६४ जनाको नाम हटाइएको हो।
यसरी आवश्यक संशोधन र अद्यावधिकपछि आयोगले असोज ३० गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने निर्णय गरेको हो।
आयोगले अन्तिम मतदाता नामावली आफ्नो आधिकारिक वेबसाइटमा सार्वजनिक गरेको छ।
साथै सातै प्रदेश, जिल्ला, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहअनुसारको मतदाता संख्यासम्बन्धी विवरणसमेत वेबसाइटमा उपलब्ध गराइएको आयोगले जनाएको छ।


