पूर्णरूपमा बाहिरियो मनसुन, केही दिन मौसम सफा र घमाईलो हुने पूर्बानुमान
काठमाडौं,२८ असोज । नेपालबाट यस वर्षको मनसुन पूर्णरूपमा बाहिरिएको छ । मौसम पूर्वानुमान महाशाखाले असोज २८ गते मंगलबार देशका सबै भूभागबाट मनसुन बाहिरिएको जानकारी दिएको हो ।

महाशाखाका अनुसार यस वर्ष असोज १७ गतेदेखि पश्चिमी तथा उत्तरी भूभागका केही स्थानबाट मनसुन बाहिरिन थालेको थियो । त्यसपछि क्रमशः अन्य भूभागबाट पनि मनसुन बाहिरिँदै गएको हो ।
नेपालमा सामान्यतया जुन १३ अर्थात् जेठ अन्तिम सातातिर मनसुन भित्रिने र अक्टोबर २ अर्थात् असोज १६ गते आसपास बाहिरिने गर्छ । तर यस वर्ष जुन १९ अर्थात् असार ५ गते मात्र मनसुन नेपाल भित्रिएको थियो । मनसुन बाहिरिने सरदर मितिभन्दा यस वर्ष १२ दिन ढिलो गरी मनसुन बाहिरिएको हो ।
यस वर्ष मनसुन बाहिरिने सरदर अवधिमा देशभर सरदर वर्षा भएको छ । यद्यपि, भौगोलिक क्षेत्रअनुसार वर्षाको मात्रा फरक रहेको छ । तराई र पहाडी क्षेत्रको तुलनामा हिमाली क्षेत्रमा बढी वर्षा भएको जनाइएको छ ।
मनसुन पूर्णरूपमा बाहिरिएसँगै अबको केही दिन देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा र घमाइलो रहने पूर्वानुमान गरिएको छ । पहाडी भूभागका एक–दुई स्थानमा छिटपुट वर्षाको सम्भावना रहे पनि समग्रमा दशैं अवधिमा मौसम अनुकूल रहने अपेक्षा गरिएको छ ।
मौसम घमाइलो रहने अनुमानसँगै दशैंमा आवतजावत गर्ने यात्रु तथा चाडपर्व मनाउन घर जाने सर्वसाधारणलाई सहज हुने अपेक्षा गरिएको छ ।


