थुलुङ दुधकोशीमा आयोजना गरियो सुशासन प्रवर्द्धनसम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया
सोलुखुम्बु,२८ असोज । थुलुङ दुधकोशी गाउँपालिकामा सुशासन प्रवर्द्धनसम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा गाउँपालिकाको मुक्लीस्थित सभाहलमा आयोजित उक्त कार्यक्रम गाउँपालिकाका कार्यवाहक अध्यक्ष सविता राईको सभाध्यक्षतामा सम्पन्न भएको हो।

गाउँपालिकाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा कर्मचारीलगायतको सहभागिता सम्पन्न कार्यक्रमको मन्त्रालयका सहसचिव तथा सूचना अधिकारी कृष्ण गिरिले सहजीकरण गर्नुभएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।
कार्यक्रममा सुशासनको अवधारणा, सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता, जिम्मेवारीबोध तथा स्थानीय तहको प्रशासनिक कार्यसम्पादनलाई प्रभावकारी बनाउने विषयमा अभिमुखीकरण तथा अन्तरक्रिया गरिएको थियो।
स्थानीय तहबाट प्रवाह हुने सेवालाई सरल, सहज, पारदर्शी र नागरिकमैत्री बनाउँदै सुशासन कायम गर्न जनप्रतिनिधि तथा कर्मचारीको भूमिका महत्त्वपूर्ण हुने भन्दै कार्यवाहक अध्यक्ष सविता राईले यस्ता कार्यक्रमले संस्थागत क्षमता अभिवृद्धि तथा सेवा प्रवाहमा सकारात्मक योगदान पुर्याउने बताउनुभयो ।
सुशासनलाई व्यवहारमा कार्यान्वयन गर्दै नागरिकप्रति उत्तरदायी र प्रभावकारी स्थानीय शासन प्रणाली निर्माण गर्न कार्यक्रम उपयोगी हुने विश्वास लिइएको छ।


