आज कांग्रेस उपसभापति र महामन्त्रीको मतगणना गरिने



काठमाडौं,२४ असोज ।नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत आज उपसभापति र महामन्त्री पदको मतगणना गरिने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा एकैसाथ तीनवटा हलमा मतगणना गर्ने तयारी भइरहेको छ ।सम्भव भएसम्म सहमहामन्त्री पदको मतगणना पनि सँगै गर्ने तयारी गरिएको छ ।

केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार मतदानपछि सबै मतपेटिका सुरक्षित रूपमा सिल गरी हिजो राति नै पार्टी कार्यालय सानेपा पुर्‍याइएको छ।

बाँकी मतगणनाको प्रक्रिया अघि बढाउन निर्वाचन समितिले दिउँसो १ बजे सबै उम्मेदवारलाई पार्टी कार्यालयमा बोलाएको थियो ।उम्मेदवारहरूसँगको बैठकले आवश्यक निर्णय गरेपछि बाँकी पदको मतगणना शुरू गरिने कटुवालले जानकारी दिए ।

मतगणनाका लागि पार्टी कार्यालय सानेपामा नेता तथा कार्यकर्ताको भीड लागेको छ। सभापति पदको भने मतगणना सम्पन्न भइसकेको छ। सभापतिमा गगन थापा निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस्