कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान
काठमाडौं,२२ साउन । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ।

काठमाडौंको राष्ट्रिय सभा गृह र खुलामञ्चमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ।
यसअघि बिहान ७ बजेदेखि नै मतदान सुरु हुने कार्यतालिका रहे पनि भारी वर्षा र प्राविधिक कारणले समय ३ घण्टा पछाडि सारिएको केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिए।
महाधिवेशनमा देशभर र प्रवासबाट आएका ७ हजार २५५ जना प्रतिनिधिले मताधिकार प्रयोग गर्नेछन्। संशोधित विधानअनुसार यस महाधिवेशनबाट २९७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित हुनेछ।
सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित पदाधिकारी र केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका नेताहरूको अन्तिम नामावली बुधबार साँझ नै सार्वजनिक भइसकेको छ।
प्रतिनिधिहरूको सहजताका लागि प्रदेश तथा समूहगत आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ।राष्ट्रिय सभा गृहलाई मतदान केन्द्र ‘क’ नामाकरण गरिएको छ भने त्यहाँ बागमती प्रदेशका मतदाताले मतदान गर्नेछन्।
त्यसैगरी खुलामञ्चलाई मतदान केन्द्र ‘ख’ भनिएको छ। महाधिवेशनकै लागि बनाइएका हिमाल हलमा गण्डकी प्रदेशका प्रतिनिधिले, तराई-मधेश हलमा मधेश प्रदेश, कोशी प्रदेश तथा तराई-मधेश समूहका प्रतिनिधिले मतदान गर्नेछन्।
यसका अलावा पहाड हलमा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश एवं नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थाका प्रतिनिधिले मतदान गर्ने गरी व्यवस्था मिलाइएको छ।




