इजरायल पठाइदिने भन्दै ठगी : पीडितलाई जाहेरी दिन प्रहरीको आग्रह



काठमाडौं,२१ असोज । इजरायलमा केयरगिभर रोजगारीमा पठाइदिने भन्दै ठूलो रकम ठगी गरेको आरोपमा पक्राउ परेका व्यक्तिहरूमाथि अनुसन्धान अघि बढाउँदै प्रहरीले अन्य पीडितलाई समेत जाहेरी दिन आग्रह गरेको छ।

नेपाल प्रहरीको सम्बन्धित ब्यूरोले जारी गरेको सूचनाअनुसार नेपाल सरकार र इजरायल सरकारबीच ‘जी टू जी’ (Government to Government) प्रक्रियाअन्तर्गत सन् २०२४ मा सञ्चालित केयरगिभर रोजगारीसम्बन्धी परीक्षामा उत्तीर्ण भई ‘होल्ड’ सूचीमा रहेका युवालाई लक्षित गरी ठगी गरिएको पाइएको हो।

उक्त परीक्षामा कुल ३ हजार ४६१ जना परीक्षार्थी उत्तीर्ण भएका थिए। तीमध्ये १ हजार १५२ जना प्रतीक्षा सूचीमा रहेको र पहिलो चरणमा १५६ जना युवालाई लक्षित गरी ठगी गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको सूचनामा उल्लेख छ।

आरोपितहरूले आफूहरूको प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसँग चिनजान रहेको भन्दै मन्त्रिपरिषद्बाट विशेष निर्णय गराएर तत्काल इजरायल पठाइदिने झुटो आश्वासन दिएको प्रहरीको भनाइ छ। उनीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका फर्जी कागजातसमेत देखाएर पीडितहरूबाट रकम असुलेको आरोप छ।यसरी योजनाबद्ध रूपमा पीडितबाट २ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम ठगी गरिएको प्रहरीमा परेको जाहेरीमा उल्लेख छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ‘हेलो सरकार शाखा’बाट प्राप्त पत्र तथा विमल पराजुलीको जाहेरीका आधारमा नेपाल सरकार वादी र रामेछाप, सुनापति गाउँपालिका–१ का ५९ वर्षीय भरतप्रसाद चौलागाईंसहित प्रतिवादीविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीले चौलागाईंसहित चार जनालाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको जनाएको छ।

यस प्रकरणमा विभिन्न किसिमले झुक्याई आरोपितहरूबाट ठगिएका अन्य पीडितलाई समेत यथाशीघ्र सम्बन्धित प्रहरी ब्यूरोमा सम्पर्क गरी जाहेरी दरखास्त दिन प्रहरीले आग्रह गरेको छ।

प्रहरीका अनुसार वैदेशिक रोजगारीको तीव्र आकांक्षा र प्रतीक्षा सूचीमा रहेका युवाको विवशताको फाइदा उठाउँदै ठगी गरिएको देखिएको छ। घटनामा संलग्न अन्य व्यक्ति तथा ठगीको थप विवरणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्