कांग्रेस महाधिवेशन : वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
काठमाडौं,२१ पुस । नेपाली कांग्रेसले यसैपालि सिर्जना गरेको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन् ।

केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि मंगलबार भएको मनोनयनमा शर्मा र भुसालको मात्र उम्मेदवारी परेको हो ।२०७८ को चौधौं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका शर्मा गत वर्ष पुसमा भएको विशेष महाधिवेशनबाट उपसभापति थिए । चौधौं महाधिवेशनमा उनी नेता प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीको उम्मेदवार थिए । त्यति बेला शेखर कोइरालाको प्यानलबाट गगन थापा महामन्त्री निर्वाचित भएका थिए ।
फरक–फरक प्यानलबाट निर्वाचित शर्मा र थापाको अग्रसरतामा गत वर्ष पुसमा विशेष महाधिवेशन गराइएको थियो । विशेष महाधिवेशनबाट सभापति बनेका थापाले अहिले पनि त्यही पदमा उम्मेदवारी दिएका छन् । थापा र शर्मा विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् ।
चौधौं महाधिवेशनमा शर्मा र थापाको प्यानललाई नेतृत्व गरेका सिंह र कोइराला भने विशेष महाधिवेशनमा सहभागी थिएनन् । सिंह अहिले पूर्वसभापति शेरबहादुर देउवाको समूहमा रहेर समानान्तर महाधिवेशनमा जुटेका छन् । कोइराला भने तटस्थ छन् ।




