कांग्रेस नेतृत्व चयनका लागि आजबाट निर्बाचन प्रक्रिया सुरु हुँदै , असोज २२ गते निर्वाचन
काठमाडौं,१९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजबाट निर्बाचन प्रक्रिया सुरु हुने भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले आज बेलुका ५ बजेदेखि निर्वाचनको कार्यक्रम सुरु गर्न लागिएको जानकारी दिए ।

उनका अनुसार आज बेलुका ५ बजे मतदाता नामावली प्रकाशन, ५ देखि ६ः३० बजेसम्म मतदाता नामावली प्रकाशन उपर दाबी विरोध, बेलुका ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
यस्तै, भोलि २० गते विहान १० देखि ३ बजेसम्म उम्मेदवारी मनोनयन, अपराह्न ४ः३० बजे अन्तिम नामावली प्रकाशन, अपराह्ने ४ः३० देखि ५ः३० बजेसम्म उम्मेदवारी दरखास्तमा दाबी विरोध, बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ ।
यसैगरी, असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारको नामावली फिर्ता लिने, बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, असोज २१ गते दिनभर प्रचारप्रसार गर्न पाइने र असोज २२ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको कार्यक्रम तोकिएको सदस्यसचिव कटुवालले जानकारी दिए ।
मतदानका लागि भने राष्ट्रिय सभा गृह, खुल्लामञ्च र प्रज्ञा भवनमा तोकिएको छ । मतदान सकिएपछि मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।




