कांग्रेस महाधिवेशन : राजनीतिक सहकार्य र बदलिँदो परिस्थितिअनुसार दलहरू अघि बढ्नुपर्नेमा नेताहरुको जोड
काठमाडौं,१८ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा सहभागी विभिन्न राजनीतिक दलका नेताहरूले लोकतन्त्रको रक्षा,राजनीतिक सहकार्य र बदलिँदो परिस्थितिअनुसार दलहरू अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

महाधिवेशनलाई शुभकामना दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कांग्रेसमाथि व्यंग्य गर्दै आफ्नो पार्टीले पाएको जनमतको सम्मान गर्न आग्रह गरे। उनले कांग्रेसले अवसर वितरणमा फरक नीति अपनाएको भए आफू पनि कांग्रेस हुन सक्ने टिप्पणी गरे।
लामिछानेले सरकार ढल्ने चर्चा गर्नेहरूमाथि समेत कटाक्ष गरे। ‘सरकार ढल्छ भन्दै हिँड्ने मान्छे आफैं ढल्छ,’ भन्दै उनले वर्तमान सरकारलाई काम गर्ने अवसर दिनुपर्ने धारणा राखे। पाँच वर्ष सरकारले काम गर्न नसके रास्वपाको सदस्यता च्यात्नसमेत उनले चुनौती दिए।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसको महाधिवेशनलाई लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण अवसरका रूपमा चित्रण गर्दै मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा दलहरूबीच सहकार्य आवश्यक रहेको सन्देश दिएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पारिवारिक कारणले सहभागी नभएपछि एमालेका तर्फबाट महासचिव शंकर पोखरेलले शुभकामना मन्तव्य दिएका छन्। उनले कांग्रेसको महाधिवेशन सफलताको शुभकामना दिँदै लोकतान्त्रिक शक्तिहरूबीच सहकार्यको आवश्यकतामा जोड दिएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि कांग्रेसको महाधिवेशनलाई शुभकामना दिँदै मुलुकको राजनीतिक परिवर्तन र जनअपेक्षालाई सम्बोधन गर्न दलहरू गम्भीर हुनुपर्ने धारणा राखेका छन्।
यसैगरी,पूर्ब प्रधानमन्त्री डा. बाबुराम भट्टराई,नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी,जनता समाजवादी पार्टी नेपालका तर्फबाट शरतसिंह भण्डारी,श्रम संस्कृति पार्टीका महासचिव आरेन राई तथा राष्ट्रिय जनमोर्चाका तर्फबाट घनश्याम पौडेलले कांग्रेस महाधिवेशनको सफलताको शुभकामना दिएका छन्।
विभिन्न दलका नेताहरूले कांग्रेसको १५औँ महाधिवेशनलाई नेपालको लोकतान्त्रिक अभ्यासलाई थप मजबुत बनाउने अवसरका रूपमा चित्रण गरेका छन्। महाधिवेशनले कांग्रेसको आगामी नीति,नेतृत्व र राजनीतिक दिशाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।




