ठुला दलहरूले विगतमा गरेको सत्ताको अभ्यासमा शक्तिको उन्माद देखिँदा देशले सङ्कट भोग्नुपर्‍यो : सभापति थापा



काठमाडौँ,१८ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस र एमालेलगायतका ठुला दलहरूले विगतमा गरेको सत्ताको अभ्यासमा गौरवभन्दा बढी शक्तिको उन्माद देखिँदा देशले सङ्कट भोग्नुपरेको बताएका छन् ।

पार्टीको १५ औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति थापाले सो कुरा बताएका हुन्।जनताको काम गर्न नसक्दा राजनीतिप्रति बढेको वितृष्णाले विश्वव्यापी रूप लिएको बताए । उनले भने, ‘अहिले हरेक कुरामा अति–राजनीतिकरण भइरहेको छ। सबैलाई राजनीतिको आँखाले मात्र हेरिँदा जनता हैरान भइसकेका छन्।’

मुलुकमा राजनीतिक अस्थिरता र बढ्दो वितृष्णाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उनले अबको राजनीतिलाई नयाँ दिशा दिनुपर्ने बताएका छन् ।सभापति थापाले प्रश्न गर्दै भने, ‘सबैतिर प्रश्न छन्, के हामीसँग ती प्रश्नको उत्तर दिने तागत छ ?’ उनले यी प्रश्नहरू वर्तमान सरकार आएपछि मात्र उब्जिएका नभई २०७२ सालमा संविधान जारी भएपछिको लामो समयदेखिको सञ्चित असन्तुष्टि भएको बताए । ‘दुर्भाग्य, नेपालमा प्रधानमन्त्री पद ‘म्युजिकल चियर'(संगीत कुर्सी) जस्तो भएको छ। जबसम्म नेतृत्व अस्थिर रहन्छ, तबसम्म जनताको काम हुन सक्दैन,’ थापाले भने ।

सत्तापक्ष र प्रतिपक्षबिचको निरन्तरको घोचपेचले देशका समस्या हल नहुने थापाको स्पष्ट धारणा छ। ‘म सत्तामा आएको छु, अब फु गरेरै समस्या समाधान हुन्छ भन्नु भ्रम हो। हामीले विश्वमा भइरहेका परिवर्तनलाई बुझ्न जरुरी छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्