प्रतिनिधि सभा सदस्य राजीव खत्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन नेपाल पत्रकार महासंघको माग



काठमाडौं,१५ असोज । नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट प्रतिनिधिसभा सदस्य राजीव खत्रीले पत्रकारिता क्षेत्र र महासंघलाई जोडेर दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा खत्रीले असोज १४ गतेको प्रतिनिधिसभा बैठकमा ‘पत्रकार हुन कि गुण्डा’ तथा ‘पत्रकारको नाममा कसैलाई पनि असनको साँढे बन्ने छुट हुँदैन’ भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन प्रतिनिधिसभाका सभामुखसँग मागसमेत गरिएको छ।

महासंघले उक्त अभिव्यक्ति सामान्य खालको नभई पत्रकारिता क्षेत्रप्रति धम्कीपूर्ण रहेको जनाएको छ। महासंघका नेताहरूले दलहरूको दलदलमा पसेर गुण्डागर्दीको भाषा बोल्नु आपत्तिजनक भएको भन्दै खत्रीको अभिव्यक्ति अशोभनीय,अमर्यादित र अराजक रहेको ठहर गरेको छ। महासंघले खत्रीको उक्त अभिव्यक्तिप्रति खेद व्यक्त गर्दै तत्काल संसद्को रोस्ट्रमबाट माफी माग्न आग्रह गरेको छ। साथै, विवादित अभिव्यक्तिका कारण शुक्रबारका लागि राखिएको अन्तरक्रिया कार्यक्रमसमेत प्रभावित भएको जनाउँदै महासंघले खत्रीबाट सार्वजनिक रूपमा माफी माग्नेबाहेक अन्य विकल्प नदेखिएको जनाएको छ।

विज्ञप्तिमा संवैधानिक अधिकारको ख्याल नगरी प्रेसविरोधी दृष्टिकोण राखेर पत्रकार र प्रेस जगतलाई धम्क्याउने वा अपमान गर्ने खत्रीलाई कारबाहीको दायरामा ल्याउनसमेत सम्बन्धित पक्षसँग माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्