युवतीको हातखुट्टा बाँधेर पेट्रोल छर्की आगो लगाउने प्रयास, भारतीय नागरिक पक्राउ



झापा,१३ असोज। झापाको बिर्तामोडमा एक युवतीको हातखुट्टा तथा घाँटी बाँधेर शरीरमा पेट्रोल छर्की आगो लगाउन खोजेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको किशनगञ्ज जिल्ला, कदमगाछी थाना क्षेत्रका ४२ वर्षीय दिलिप चन्द्र राय रहेका छन्। उनी हाल बिर्तामोड नगरपालिका–५ स्थित इलाम स्टेनमा रहेको अमृत भोग मिठाई पसलमा काम गर्दै आएका थिए।
प्रहरीका अनुसार सोमबार राति करिब १०ः३० बजे मादक पदार्थ सेवन गरी पेट्रोलसमेत बोकेर राय बिर्तामोड–५ मा डेरा गरी बस्दै आएकी २२ वर्षीया रविना मगरको कोठामा प्रवेश गरेका थिए।

इलामको रोङ गाउँपालिका–३ घर भएकी मगरको कोठामा प्रवेश गरेका रायले तन्ना च्यातेर उनको हातखुट्टा तथा घाँटी बाँध्नुका साथै शरीरमा पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले रायलाई नियन्त्रणमा लिएको हो। घटनामा घाइते भएकी मगरलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पताल लगिएको छ। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।पक्राउ परेका रायमाथि घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्