राष्ट्रिय मानव अधिकार आयोगमा बयान दिएर फर्किए एसएसपी खड्का
काठमाडौं,१३ असोज । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले राष्ट्रिय मानव अधिकार आयोगमा बयान दिएका छन्।

आइतबार दिउँसो अनुगमनका क्रममा गएका आयोगका पदाधिकारीलाई प्रवेश नदिइएको घटनामा एसएसपी खड्काले आयोग पुगेर बयान दिएका हुन्। आयोगले एसएसपी खड्कासँग एक घण्टा सोधपुछ गरेको हो।
आयोगले सोमबार प्रहरी प्रधान कार्यालयलाई खड्कामाथि सोधपुछ गर्नका लागि उपस्थिति गराइदिन भनेर पत्र लेखेको थियो।‘उहाँ बयान दिएर फर्किसक्नुभएको छ। छानबिनको प्रक्रियामा रहेकाले के भन्नुभयो भन्ने जानकारी भएन,’ आयोगका सहप्रवक्ता श्यामबाबु काफ्लेले भने, ‘अरू कसलाई बोलाउने भन्ने विषयमा टुंगो छैन।’
आइतबार बिहान ३ बजेतिर कार्यालयका डिएसपी योगराज खतिवडाको टोली पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाको बाँसबारीस्थित निवास पुगेको थियो।




