सोलुखुम्बु : साल्मे क्षेत्रमा पहिरोका कारण अवरुद्ध सडक पूर्ण सञ्चालनमा



सोलुखुम्बु,१३ असोज। सिद्धिचरण राजमार्गअन्तर्गत सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ स्थित साल्मे क्षेत्रमा पहिरोका कारण अवरुद्ध सडक २४ घण्टापछि पूर्ण रूपमा सञ्चालनमा आएको छ।

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले मंगलबार एक सूचना जारी गर्दै पहिरो व्यवस्थापनको काम सम्पन्न भएसँगै सडक पूर्ण रूपमा सञ्चालनमा आएको जानकारी दिएको हो।

पहिरोको जोखिमका कारण उक्त सडकखण्ड साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म बन्द गरिएको थियो। सडक मर्मत तथा पहिरो व्यवस्थापनको काम सम्पन्न भएपछि सवारीसाधनको आवागमन पुनः सञ्चालन गरिएको प्रशासनले जनाएको छ।

सडक सञ्चालनमा आए पनि पहिरोको जोखिमलाई ध्यानमा राख्दै यात्रा गर्न प्रशासनले आग्रह गरेको छ। उक्त सडकखण्डमा यात्रा गर्ने सम्पूर्ण यात्रु तथा सवारी चालकलाई आवश्यक सावधानी अपनाएर सुरक्षित रूपमा यात्रा गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्