सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ को सभापतिमा कर्मा शेर्पाको पुनः उम्मेदवारी
सोलुखुम्बु, १३ असोज । नेपाली कांग्रेस सोलुखुम्बु प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ को क्षेत्रीय सभापतिमा कर्मा शेर्पाले पुनः उम्मेदवारी घोषणा गरेका छन्। यसअघि सोही पदमा रहेर एक कार्यकालको जिम्मेवारी सम्हालिसकेका शेर्पाले पार्टी संगठनलाई थप सुदृढ,गतिशील र एकताबद्ध बनाउने प्रतिबद्धतासहित पुनः उम्मेदवारी दिएका हुन्।

अघिल्लो कार्यकालमा प्राप्त अनुभव र सिकाइलाई संगठन निर्माणमा उपयोग गर्ने उद्देश्यले आफू पुनः चुनावी मैदानमा उत्रिएको शेर्पाले बताएका छन्। पार्टीभित्र आपसी सद्भाव, सहकार्य र एकतालाई प्राथमिकतामा राख्दै संगठनलाई नयाँ ऊर्जा र उत्साहका साथ अघि बढाउने उनको योजना छ।
‘एक कार्यकाल क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हाल्दा धेरै कुरा सिक्ने अवसर पाएँ। अघिल्लो कार्यकालले मलाई थप अनुभवी र परिपक्व बनाएको छ,’ शेर्पाले भने, ‘त्यही अनुभवलाई पार्टी निर्माणमा कुशलतापूर्वक उपयोग गर्दै संगठनलाई थप गतिशील, सशक्त र एकताबद्ध बनाएर अघि बढाउने मेरो उद्देश्य छ।’
राजनीतिसँगै पर्यटन व्यवसाय र सामाजिक सेवामा सक्रिय शेर्पा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्षसमेत हुन्। विभिन्न सामाजिक संघसंस्थामा आबद्ध उनी गैरसरकारी संस्थामार्फत सामाजिक सेवामा पनि क्रियाशील रहँदै आएका छन्।
विशेषगरी दुर्गम क्षेत्रका बालबालिका गरिबीका कारण गुणस्तरीय शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले उनी शैक्षिक तथा सामाजिक क्षेत्रमा सक्रिय छन्। शिक्षा नै समाज रूपान्तरणको महत्वपूर्ण आधार भएको विश्वास राख्ने शेर्पाले दुर्गम क्षेत्रका बालबालिकाको शैक्षिक अवसर विस्तारलाई आफ्नो सामाजिक सेवाको प्राथमिकतामा राखेका छन्।
मिलनसार र मृदुभाषी स्वभावका शेर्पा राजनीतिक जिम्मेवारीसँगै सामाजिक सेवामा पनि निरन्तर सक्रिय छन्। पार्टीभित्रको एकतालाई थप मजबुत बनाउँदै अघिल्लो कार्यकालको अनुभवका आधारमा संगठनलाई नयाँ ढंगले अघि बढाउने उनको प्रतिबद्धता छ।
पुनः उम्मेदवारी घोषणा गर्दै शेर्पाले पार्टीका अग्रज नेताहरूको अनुभव र युवा पुस्ताको ऊर्जा समेटेर सबैलाई साथमा लिई अघि बढ्ने बताएका छन्। उनले आगामी कार्यकालमा संगठन सुदृढीकरण,कार्यकर्ताबीचको एकता र पार्टीको संस्थागत विकासलाई प्राथमिकता दिने उनको भनाई छ ।




