कांग्रेस महाधिवेशन प्रतिनिधिमा युवा नेता नवीन थापाको उम्मेदवारी
सोलुखुम्बु,१३ असोज। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज हुने निर्वाचनमा कांग्रेसका युवा नेता नवीन थापाले महाधिवेशन प्रतिनिधि पदमा प्रतिस्पर्धा गर्ने भएका छन्। लामो समयदेखि विद्यार्थी राजनीति हुँदै पार्टीका विभिन्न तहमा सक्रिय रहँदै आएका थापा नेपाल तरुण दलका निवर्तमान केन्द्रीय सदस्य हुन्।

२०५६ सालमा सोलुखुम्बुको नेलेस्थित जीवन ज्योति माध्यमिक विद्यालयबाट राजनीतिक यात्रा सुरु गरेका थापाले नेपाल विद्यार्थी संघ (नेविसंघ) हुँदै पार्टी राजनीतिमा आफ्नो सक्रियता बढाएका हुन्।
थापा २०५९ सालमा काठमाडौंस्थित सरस्वती क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्य भएका थिए। त्यसपछि २०६२ सालमा सोही क्याम्पसमा नेविसंघको उपाध्यक्ष बनेका उनी २०६४ सालमा नेविसंघको जिल्ला अध्यक्ष भएका थिए।
विद्यार्थी राजनीतिबाट नेतृत्व विकास गरेका थापा २०७० सालमा नेपाल तरुण दलको केन्द्रीय सदस्य बनेका थिए। उनी २०७६ सालमा नेपाली कांग्रेस सोलुखुम्बुको जिल्ला सदस्य तथा २०७८ सालमा पार्टीको महाधिवेशन प्रतिनिधि भएका थिए। त्यसैगरी, २०७९ सालमा उनी नेविसंघको केन्द्रीय सदस्यसमेत बनेका थिए।
पार्टीलाई थप सुदृढ, एकताबद्ध र जनमुखी बनाउने उद्देश्यसहित आफूले उम्मेदवारी दिएको उनको भनाइ छ। विद्यार्थी तथा युवा राजनीतिमा हासिल गरेको अनुभवलाई संगठन निर्माणमा उपयोग गर्दै युवाको सक्रिय सहभागिता र नेतृत्व विकासमा जोड दिने उनको प्रतिबद्धता छ।




