तटीय क्षेत्रमा नारायणी नदीको बितण्डा



काठमाडौं,११ असोज । तीन दिनदेखिको निरन्तर वर्षाका कारण नारायणी नदीले डुबान गरेको नवलपुरका विभिन्न स्थानबाट चार सय ६१ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

गैँडाकोट नगरपालिका–२ बोटे टोलमा डुबानमा परेको एक सय १० घरधुरीका चार सय जनालाई प्रहरी टोली र स्थानीयको सहयोगमा नजिकै रहेको महेन्द्र आधारभूत विद्यालय तथा केहीलाई आफन्तहरुको घरमा व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी यपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

बोटे टोलबाट शनिवार एक सय १४ जनालाई स्थानान्तरण गरेर छिमेकीहरुको घरमा राखिएको थियो ।

उता,नारायणी नदी बस्तीमा पसेपछि पूर्वी नवलपरासीको मध्यविन्दुका केही बस्ती डुबानमा परेका छन् ।मध्यविन्दु नगरपालिका–२, भुताहामा नारायणी नदीको बहाव बढेर बस्तीमा पानी पस्दा १७ घरधुरी जलमग्न भएका प्रहरीले जनाएको छ ।

बाढीको जोखिममा परेका ६१ जना स्थानीय र पशु चौपायालाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी अनिल पण्डितले जानकारी दिए ।

आइतबार बिहान ७ बजे नदीको पानी बस्तीमा पसेपछि प्रहरीले उद्धार टोली खटाएर जोखिममा रहेका स्थानीयलाई नजिकैको लिटिल फ्लावर बोर्डिङ स्कूल तथा आफन्तको घरमा व्यवस्थापन गरिएको छ । हालसम्म मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ ।

यस्तै,नारायणी नदीमा जलसतह बढेसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का बस्ती डुबानमा परेका छन् । गैँडाकोट नगरपालिका–२ बोटेटोल तथा कावासोतीको अमलटारी क्षेत्र पनि डुबानमा परेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी अनिल पण्डितका अनुसार, बोटेटोल डुबानमा परेपछि त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्