नारायणी नदीमा जलसतह खतराको तहभन्दा माथि,तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं,११ असोज । देशभर जारी निरन्तरको भारी वर्षाका कारण नारायणी नदी तथा यसका प्रमुख सहायक नदीहरूमा बाढीको उच्च जोखिम बढेको छ।

जल तथा मौसम विज्ञान विभाग (बाढी पूर्वानुमान महाशाखा) ले आइतबार विशेष बाढी चेतावनी जारी गर्दै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार नारायणी नदीमा जलसतह खतराको तह (९.० मिटर) नाघेर करिब ११.० मिटर पुगिसकेको छ। नदीमा पानीको बहाव निरन्तर बढ्दो क्रममा छ। देवघाटस्थित बाढी मापन केन्द्रका अनुसार नारायणी नदीको बहाव आज दिउँसोसम्म अझै तीव्र रूपमा बढ्ने आकलन गरिएको छ। महाशाखाका अनुसार आज बिहान ११ बजे आसपास जलसतह बढेर करिब १३.० मिटरसम्म पुग्न सक्ने सम्भावना छ।
आज साँझसम्मै जलसतह खतराको तहभन्दा माथि नै रहने र सहायक नदीहरूमा पनि दिउँसोसम्म उच्च बहाव कायम रहने पूर्वानुमान छ। नारायणी नदीको ठूलो बाढीका कारण चितवन र नवलपरासीका तटीय, होचा तथा डुबान सम्भावित क्षेत्रहरू उच्च जोखिममा परेका छन्।
नदी किनारका तल्लो भूभाग, कमजोर तटबन्ध तथा बाढीको जोखिम भएका बस्तीहरूमा पानी पस्ने खतरा उच्च रहेकाले जोखिमयुक्त क्षेत्रका नागरिकलाई ढिलाइ नगरी तत्कालै सुरक्षित तथा अग्लो स्थानतर्फ जान अनुरोध गरिएको छ।
महाशाखाले नदी तथा तटीय क्षेत्रमा आवतजावत नगर्न र जोखिमयुक्त क्षेत्रमा अनावश्यक भिड नगर्न आग्रह गरेको छ। साथै, कालीगण्डकी, सेती, मादी, मर्स्याङ्दी, दरौँदी, चेपे, बुढीगण्डकी र त्रिशूली नदी क्षेत्रमा साँझसम्मै उच्च सतर्कता अपनाउन विशेष अपिल गरिएको छ। स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित उद्धार टोलीले जारी गर्ने आधिकारिक सूचना र निर्देशनको पूर्ण रूपमा पालना गर्न पनि आग्रह गरिएको छ।




