८ करोड ४२ लाख बिगोका १२ बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ
काठमाडौं,९ असोज । बैंकिङ कसुरसम्बन्धी १२ वटा मुद्दामा दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले करिब ८ करोड ४२ लाख रुपैयाँ बिगो र २ वर्ष १४ दिन कैद सजाय तोकिएका प्रतिवादीलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ४८ वर्षीय शेरबहादुर मगर रहेका छन्। उनीविरुद्ध उच्च अदालत पाटन, काठमाडौं जिल्ला अदालत र भक्तपुर जिल्ला अदालतबाट विभिन्न मितिमा बैंकिङ कसुरसम्बन्धी मुद्दामा फैसला भएको थियो।
प्रहरीका अनुसार अदालतहरूले उनलाई कुल २ वर्ष १४ दिन कैद र ८ करोड ४२ लाख रुपैयाँभन्दा बढी बिगो भराउने फैसला गरेका थिए। फैसला कार्यान्वयन हुन बाँकी रहेको अवस्थामा उनी फरार थिए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई ललितपुर महानगरपालिका–१० स्थित बाटोबाट पक्राउ गरेको हो।
पक्राउ परेका मगरलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको कार्यालयले जनाएको छ।


