भोटेकोशी बाढी : उद्धार र खोजीमा आज थप २ हजार ९८३ सशस्त्र प्रहरी परिचालित



काठमाडौं,१२ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएकाहरूको खोजी तथा प्रभावित नागरिकको उद्धारका लागि सशस्त्र प्रहरी बल,नेपालले थप जनशक्ति परिचालन गरेको छ ।

हिजोसम्म विपद् प्रतिकार्यमा १ हजार ८४५ सशस्त्र प्रहरी परिचालन भएकोमा आज थप २ हजार ९८३ जना परिचालन गरी कुल संख्या ४ हजार ८२८ पुर्‍याइएको सशस्त्र प्रहरीले जनाएको छ ।

रसुवा, नुवाकोट, धादिङ, तनहुँ, गोरखा, चितवन, पूर्वी नवलपरासी र पश्चिम नवलपरासीमा विशेष बेस क्याम्प स्थापना गरी प्रभावित क्षेत्रमा विज्ञसहितका छुट्टाछुट्टै टोली खटाइएको छ । परिचालित टोलीमा दक्ष खोज तथा उद्धारक, मास क्याजुअल्टी भेहिकल सञ्चालन तथा व्यवस्थापनमा दक्ष जनशक्ति, शव व्यवस्थापन, शिविर समन्वय तथा व्यवस्थापन र प्राथमिक उपचारका विज्ञहरू छन् ।

भत्किएका संरचनामा खोज तथा उद्धारका लागि ४४ जनाको सीएसएसआर टोलीसमेत परिचालन गरिएको छ । खोजी कार्यलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी बलको के–९ टोलीअन्तर्गत सातवटा उद्धार कुकुरसहित २१ जनाको टोली विभिन्न क्षेत्रमा खटाइएको छ ।

त्यस्तै, पाँचवटा ड्रोनसहितको विशेष ड्रोन स्क्वाड, डोरीको माध्यमबाट उद्धार गर्न १३ जनाको छुट्टै टोली तथा आवश्यकताअनुसार विभिन्न स्थानमा गोताखोरसमेत परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ । थप आवश्यकताका लागि देशका विभिन्न स्थानबाट ३५५ जना सशस्त्र प्रहरीलाई तयारी अवस्थामा राखिएको छ ।

भोटेकोशी हुँदै त्रिशूली नदीको तटीय क्षेत्रमा प्रभावित ४८ वटा वडामा रहेका सशस्त्र प्रहरी बलका सूचीकृत १ हजार २०० विपद् सूचकमार्फत घटनास्थलको अवस्था, जोखिम र प्रभावित नागरिकसम्बन्धी सूचना संकलन भइरहेको छ ।
उद्धार तथा खोजीका अतिरिक्त सशस्त्र प्रहरीले प्रभावित नागरिकका लागि आश्रयस्थल व्यवस्थापन, सुरक्षा तथा राहत सामग्री ढुवानीमा समेत सक्रियता बढाएको छ ।

बाढी आएको दिनदेखि नै नुवाकोटमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर सञ्चालन गरी निरन्तर स्वास्थ्य सेवा प्रदान भइरहेको छ । विपद्मा घाइते भएकाहरूको आकस्मिक उपचारका लागि काठमाडौंस्थित नेपाल एपीएफ अस्पताल र कुरिनटारस्थित सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयको ट्रमा सेन्टरमा १००/१०० शय्याको विशेष तयारी गरिएको छ ।
प्रभावित क्षेत्रमा ऊर्जाको आवश्यकता पूरा गर्न सशस्त्र प्रहरीले आठवटा जेनेरेटर, आवश्यक इन्धन, पाँचवटा सोलार प्यानल र १५ वटा ग्यास सिलिन्डरसहितका अत्यावश्यक सामग्रीसमेत सुरक्षित रूपमा प्रभावित क्षेत्रमा पुर्‍याएको जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भोटेकोशी बाढीपछि उद्धार,खोजी,राहत तथा पुनःस्थापनाका लागि सरकारी संयन्त्रहरूलाई थप सक्रिय बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्