बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा थप एक नाबालक पक्राउ,पक्राउ पर्नेहरुको संख्या ८ पुग्यो
काठमाडौं,९ भदौ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दुसधरा निवासी बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले थप एक नाबालकलाई पक्राउ गरेको छ।

घटनाका मुख्य आरोपी भनिएका सुमन थापाले बयानका क्रममा नाम पोलेका जीतपुरसिमरा–२ का १४ वर्षीय प्रदीप खड्कालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो। कक्षा ९ मा अध्ययनरत खड्कालाई पक्राउ गरेसँगै घटनामा नियन्त्रणमा लिइएकाहरूको संख्या ८ पुगेको छ।
प्रहरीका अनुसार सुमन थापाको सोधपुछका क्रममा सार्वजनिक भएको भिडियोमा प्रदीपको नामसमेत उल्लेख गरिएको थियो। उक्त भिडियोमा सुमनले बालिकामाथि अपराध प्रदीपको योजना र नेतृत्वमा भएको दाबी गरेका थिए। घटनापछि प्रदीप फरार भएको उनको भनाइ थियो।
सुमनको सोधपुछसम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले प्रदीपलाई पक्राउ गरेको जनाइएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए।
गरिमाको शव फेला परेपछि प्रहरीले सुरुमा सुमन थापा र प्रोग्रेस चौधरीलाई पक्राउ गरेको थियो। त्यसपछि अनुसन्धानका क्रममा प्राप्त सूचना तथा प्रमाणका आधारमा थप व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। गरिमाको परिवारले पूरक जाहेरी दिएपछि शनिबार मात्रै प्रहरीले थप पाँच जनालाई पक्राउ गरेको थियो।
प्रहरीले पक्राउ परेका अन्य व्यक्तिहरूको पहिचान भने सार्वजनिक गरेको छैन। घटनामा बालिकामाथि सामूहिक बलात्कार भएको हुनसक्ने आशंका गरिए पनि अनुसन्धान पूरा नभएसम्म त्यसबारे यकिन निष्कर्षमा पुग्न नसकिने प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूको बयान, भौतिक प्रमाण तथा प्राविधिक अनुसन्धानका आधारमा घटनामा सामूहिक बलात्कार भए–नभएको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
यसैबीच,बलात्कारपछि हत्या घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका किशोरको बयानको भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको अभियोगमा एक प्रहरी पक्राउ परेका छन्।
किशोरको बयान चलिरहेका बेला बयान कक्षभित्रै खिचिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीमाथि नै गम्भीर प्रश्न उठेको थियो। भिडियोमा किशोरले घटनाबारे विस्तृत विवरण दिइरहेको देखिन्छ।
प्रहरीसमक्ष कानुनी प्रक्रियाअन्तर्गत लिइएको बयानको भिडियो कसरी बाहिरियो भन्ने विषयमा अनुसन्धान अघि बढाउने क्रममा भिडियो बयान कक्षभित्रैबाट बाहिरिएको हुनसक्ने देखिएको हो। त्यसपछि भिडियो खिच्ने प्रहरीलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ।

