शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट र धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु, एक पक्राउ
काठमाडौं,५ भदौ । काठमाडौंको शंखमुलस्थित एक होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका–१०, शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा भएको घटनामा दाङको घोराही उपमहानगरपालिका–१७ घर भई सोही होस्टलमा बस्दै आएका २२ वर्षीय बसन्त कालाथोकीको मृत्यु भएको हो।
प्रहरीका अनुसार कालाथोकीमाथि सोही होस्टलमा बस्दै आएका बाराको कलैया उपमहानगरपालिका–३ का १८ वर्षीय शेखर यादव र अन्दाजी २० वर्षीय प्रमित पटेलले कुटपिट गर्नुका साथै धारिलो हतियार प्रहार गरेका थिए।
घटनामा गम्भीर घाइते भएका कालाथोकीलाई उपचारका लागि काठमाडौंको मिनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो। उनको टाउको र घाँटीमा गम्भीर चोट लागेको थियो। बोल्नसमेत नसक्ने अवस्थामा उपचार भइरहेका कालाथोकीलाई चिकित्सकले उपचारकै क्रममा मृत घोषणा गरेका हुन्।
घटनामा संलग्न रहेको आरोपमा शेखर यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनापछि फरार रहेका प्रमित पटेलको खोजी भइरहेको छ।
घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

