पार्टीभित्र देखिएका असहमति र विवादलाई बृहत् एकतामा बदल्नुपर्छ : देउवा



काठमाडौं,२९ साउन । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएका असहमति र विवादलाई बृहत् एकतामा बदल्नुपर्ने बताएका छन् । कांग्रेस लामो संघर्ष र योगदानबाट स्थापित भएको पार्टी भएकाले यसभित्र उत्पन्न हुने विवादले पार्टीमा मात्रै नभई मुलुकको लोकतान्त्रिक व्यवस्था र राष्ट्रियतामासमेत असर पार्न सक्ने देउवाले बताए ।

शुक्रबार नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले
देउवाले पार्टी एकताको प्रक्रियामा कुनै एक व्यक्ति वा समूहलाई केन्द्रमा राख्न नहुने बताए । सबै नेता तथा कार्यकर्ताको भावना र योगदानलाई सम्मान गर्दै पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने उनको धारणा थियो ।उनले भने, ‘नेपाली कांग्रेस २००७ सालमा संघर्ष गरेदेखि अहिलेको युवा पुस्तासम्म सात पुस्ता संघर्ष गरेको पार्टी हो । यो पार्टीमा विवाद हुँदा समग्र मुलुकको राष्ट्रियता र लोकतन्त्रमा खतरा हुन्छ ।’

पार्टीभित्र विगतमा पनि गम्भीर विवाद र असहमति देखिए पनि सहमति तथा सहकार्यका माध्यमबाट समाधान निकालिएको उदाहरण रहेको उनले स्मरण गरे । अहिले देखिएका असहमतिलाई पनि त्यही अनुभवका आधारमा समाधान गर्नुपर्ने उनको भनाइ थियो ।

समाजमा अझै पनि निराशा रहेको उल्लेख गर्दै त्यसलाई आशामा बदल्ने जिम्मेवारी कांग्रेसको रहेको बताए । उनले कांग्रेसले लोकतन्त्र र राष्ट्रिय हितको संरक्षणमा जिम्मेवार भूमिका खेल्नुपर्ने धारणा राखे । उनले भने, ‘अहिले मुलुकको राजनीतिक अवस्था अत्यन्तै संवेदनशील देखिएको छ । यो संवेदनशील अवस्थामा नेपाली कांग्रेसका सम्पूर्ण साथीहरूले बडो सजग भएर राष्ट्रिय अहितका काम रोक्न,सचेत गर्न भूमिका खेल्नुपर्ने हुन्छ ।’

भेलालाई निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्का,नेताहरु डा.शेखर कोइराला,बिमलेन्द्र निधि,कृष्ण सिटौला,बिजय गच्छदार,एनपी साउद,गोमा भट्टराई,दुजाङ शेर्पा,कान्छाराम तामाङ,जीत्जंग बस्नेत लगायतले सम्बोधन गरेका थिए।भेला शनिबार सम्म चल्नेछ।

प्रतिक्रिया दिनुहोस्